पत्रपत्रिका , ५४८१७ पटक हेरिएको
एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उहाँलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चार्ज गरिदियो । न त लैजाने स्ट्रेचर, न एम्बुलेन्स, न त अरू भाडाको सवारी साधन । सकिनसकी गेग्य्रान बाटोमा दुवै जना लड्खडाउँदै हिँड्नुभयो । मीनाकी सासू एक दिनकी नातिनी बोकेर अघि अघि हिँड्दै हुनुहुन्थ्यो ।
मीना भाउन्न भएर लड्न लाग्दा दुई स्वयंसेवक युवतीले देखेपछि हात समातेर अड्याए । सासू सुनिता बादीले भन्नुभयो, “लाने गाडी छैन, अहिले ननिकालिदेऊ, घर पनि छैन भन्दा पनि निकालिदिए, कहाँ लैजानु ? लिएर आया ।”अस्पतालबाट घर झन्डै आधा घण्टाको मात्र बाटो हो । तर सुत्केरीका लागि त्यो पनि हिमाल चढे जस्तै भयो । मीना अलि पर नपुग्दै थर्थरी काँपेर उभिन नसकेर थचक्क बाटामै लड्नुभयो । नलगाड नगरपालिका–७, दल्ली भेरी पारिको किनारको बस्ती हो । वरिपरि लहरै भत्केका घर, छेउमा कतै त्रिपाल, कतै झिँजामिजाले टालेका टहरा धमाधम बनाइँदै थिए । भूकम्पको पीडाले थलिएकाले होला । सुत्केरीलाई सघाउन कोही आएनन् । घर भत्किएर खण्डहर थियो । जताततै भत्किएकाले नभत्किएको पर्खालको बरन्डाको खाटमा उहाँ थचक्क बस्नुभयो । एकछिन पीडाले मीनाले दाह्रा किट्नुभयो, आँखा रसाए । चपक्क आँखा चिम्लेर खाटमा ढल्नुभयो । छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी आमालाई के भयो भनेर छेउमा निन्याउरो मुख लगाएर उभिए । सासूले अर्कोपट्टि एक दिनकी छोरी राखिदिनुभयो ।
सासू सुनिता बादीका अनुसार छोराको शल्यव्रिmया गरेकाले त्यति हिँडडुल गर्न सक्दैनन् । अर्को छोरा वैदेशिक रोजगारीका लागि मलेसिया गएको उतै बिरामी परेर उपचार गराउँदै छन् । उहाँको तेस्रो बच्चा भए पनि भूकम्पको पीडाले थिलथिलो भएको मीनाको शरीरले सुत्केरी व्यथा धान्न सकिरहेको थिएन । बस्न घर छैन, खान अन्न छैन । वरपर सबैले पाल टाँगेर ओत बनाइसके । उहाँको परिवार भने सुत्केरी बोकेर भत्किनै लागेको घरकै बरन्डामा बस्न बाध्य छ ।
उषा परियारको भने पहिलो बच्चा हो । उहाँलाई पनि उस्तै पीडा छ । तर श्रीमान्सँगै भएकाले राम्रो आड पाएको उहाँले बताउनुभयो । उषाले मुस्काउन खोज्दै भन्नुभयो, “बुढा यहीँ छन्, बोकेर पनि लैजालान् ।”उहाँले मीनाको पीडा देखेर बरु उहाँलाई कसैले बोकेर पु¥याइदिए हुने भनेर पीर पोख्नुभयो । एक जना पुरुषले बोक्न खोजे पनि सुत्केरी अवस्थाको फोहोर हुन्छ भनेर बोक्न मानेनन् । श्रीमान् सबिन परियारले श्रीमतीलाई अघि लाउँदै भन्नुभयो, “घर त छैन, भत्कियो, पालमै बसे पनि सुत्करीलाई तातो खुवाउँछु ।”मीनालाई भने सासूआमाले कहिले ज्वानोको झोल देलिन् र खाउँला भएको थियो । आँगनमा आगो बाल्दै बसाल्न थाल्नुभयो । ग्यास चुलो र भान्साका सामान पनि भूकम्पले ढलेको ढुङ्गा र माटोले किचिएपछि माटोको चुलो बनाएर भात पकाउने गर्नुभएको छ । सुत्केरी महिलाको अवस्था उहाँको जस्तै भूकम्प गएका स्थानमा दर्दनाक छ ।
एउटी सुत्केरीलाई बारेकोट क्षेत्रबाट अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चाको ज्यान गयो । अर्की सुत्केरीले बच्चा राम्रै जन्माए पनि अस्पतालमा ज्यान गुमाइन् । एक महिनाकी सुत्केरी १९ वर्षीय काजल बिक चिउरी गाउँबाट एक घण्टाको बाटो हिँडेर बच्चाका लागि न्यानो झोला लिन दल्ली पुग्नुभयो ।
उहाँकी साथी १९ वर्षीया सम्झना बिक पनि एक महिनाको बच्चा काखी च्यापेर चिउरीदेखि हिँडेर स्वास्थ्य सेवा कार्यालय पुग्नुभएको हो । काजल बिकले भन्नुभयो, “चिसोमा बस्दा बच्चालाई खोकी लाग्न थाल्यो, खान राम्रो नपाउँदा दुध कम आउँछ, आफू पनि कमजोर भएको छु ।” नलगाडमा एक दिनदेखि छ महिनासम्मका करिब पाँच सय हाराहारी सुत्केरी रहेको नगरपालिकाकी पोषण सहजकर्ता गीता खत्रीले बताउनुभयो । राहत सामग्रीमा पनि सुत्केरीलाई चाहिने कुनै पनि खालका सामग्री आएका छैनन् । जसले गर्दा सुत्केरी र बच्चालाई बढ्दो चिसोमा ज्यान जोगाउन गाह्रो परेको उहाँहरू बताउनु हुन्छ ।गोरखापत्रबाट
प्रकाशित मिति: २०२३-११-१० , समय : ०७:३९:०२ , १ वर्ष अगाडि