कनकाईको आन्तरिक राजस्व लक्ष्य पूरा भए पनि बाह्य आम्दानी घट्दा योजना कार्यान्वयनमा चुनौती

झापा एक्सप्रेस , ६६१  पटक हेरिएको

झापाको कनकाई नगरपालिकाले चालु आर्थिक वर्षका लागि संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँड तथा आन्तरिक स्रोतसमेतबाट जम्मा ७१ करोड ४ लाख १७ हजार ४११ रुपैयाँ आम्दानी हुने अनुमान गरेकोमा हालसम्मको प्राप्ति अपेक्षाभन्दा कम देखिएको छ ।
विशेषगरी संघीय र प्रदेश सरकारबाट आउने अनुदान तथा बाँडफाँड राजस्व घट्दा नगरको समग्र वित्तीय अवस्था दबाबमा परेको देखिएको छ ।

समानीकरण अनुदानतर्फ नगरपालिकाले १४ करोड १२ लाख ९९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको थियो । तर हालसम्म ९ करोड ९५ लाख १९ हजार रुपैयाँ मात्रै प्राप्त भएको छ । त्यसमाथि, दोस्रो त्रैमासिकदेखि निकासा हुने रकममा २० प्रतिशत कटौती लागू गरिँदा आर्थिक वर्षको अन्त्यसम्ममा समानीकरण अनुदानमा मात्रै १ करोड ४१ लाख रुपैयाँ बराबरको कमी हुने प्रक्षेपण गरिएको छ ।
यता, आन्तरिक राजस्व संकलनतर्फ भने नगरपालिकाले सकारात्मक प्रगति गरेको छ । ५ करोड ८१ लाख ४० हजार रुपैयाँ लक्ष्य राखिएकोमा चैत मसान्तसम्म ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ उठिसकेको छ। बाँकी तीन महिनामा करिब ९३ लाख ९४ हजार रुपैयाँ उठाउन बाँकी रहेकाले यो लक्ष्य पूरा हुने देखिएको छ ।
तर संघीय, प्रदेश सरकार तथा घरजग्गा रजिस्ट्रेसन, ढुंगा–गिटी–बालुवा लगायतका स्रोतबाट हुने राजस्व बाँडफाँडतर्फ भने ठूलो गिरावट देखिएको छ। १६ करोड ५८ लाख ११ हजार रुपैयाँ आम्दानीको अनुमान गरिएकोमा हालसम्म १० करोड ३६ लाख ८४ हजार रुपैयाँ मात्रै प्राप्त भएको छ। आर्थिक वर्षको अन्त्यसम्म थप ३ करोड ४५ लाख रुपैयाँ मात्र प्राप्त हुने देखिँदा करिब २ करोड ७५ लाख ६५ हजार रुपैयाँ बराबरको रकम अपुग हुने अनुमान गरिएको छ ।
यसरी समग्र अनुदान र बाँडफाँड राजस्व घट्दा आर्थिक वर्षको अन्त्यसम्ममा कुल ४ करोड १६ लाख ९५ हजार रुपैयाँभन्दा बढी न्यून आम्दानी हुने आँकलन गरिएको छ।
यस अवस्थाले नगरपालिकाले विनियोजन गरेका योजना तथा कार्यक्रमहरूको कार्यान्वयनमा प्रत्यक्ष दबाब पर्ने देखिएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा समेत दायित्व भुक्तानीलाई प्राथमिकता दिनुपर्ने अवस्था आउने संकेत देखिएको छ।
नगरपालिकाका लेखा अधिकृत क्षेत्रनाथ शर्माका अनुसार, “आन्तरिक राजस्व संकलन सन्तोषजनक भए पनि संघ र प्रदेशबाट प्राप्त हुने रकम समयमा नआउँदा र बीचमै कटौती हुँदा तोकिएको लक्ष्य पूरा गर्न कठिन भएको छ।”
शर्माले संघीय तथा प्रदेश सरकारले निर्धारण गरेको बजेट सिलिङ बीचमै कटौती नहुने वातावरण बनेमा मात्र स्थानीय तहको योजना कार्यान्वयन सहज हुने उल्लेख गर्नु भएको छ ।
कन्काई नगरपालिकाले आफ्नै स्रोतबाट लक्ष्यअनुसार राजस्व संकलन गरे पनि बाह्य स्रोतमा आएको कमीले समग्र बजेट व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

प्रकाशित मिति: २०२६-०५-०६ , समय : २०:३८:१६ , ५६ मिनेटutes अगाडि

error: Content is protected !!