मोटरसाइकलको ब्याक लाइटभित्र लुकाएर ल्याइएको ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा एक्सप्रेस , २८४  पटक हेरिएको

झापा । मोटरसाइकलको पछाडिको बत्ती (ब्याक लाइट) भित्र लागूऔषध लुकाएर नेपाल भित्र्याउने प्रयास गरिरहेका दुई जना युवा झापामा पक्राउ परेका छन्।

झापा गाउँपालिका–५ खादाबस्तीबाट भारतबाट नेपालतर्फ आउँदै गरेको प्र ०१–०१–०१५ प ८५६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले लागूऔषधजस्तो देखिने खैरो पदार्थ बरामद गरेको हो।

आज शनीबार साँझ करिब ६ः३० बजे इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायब निरीक्षक सुबास ढुंगानाको कमाण्डमा खटिएको टोली र प्रहरी चौकी शरणामतीबाट तीर्थबहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले शंकास्पद मोटरसाइकल रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलको पछाडिको बत्तीभित्र कालो प्लास्टिकका तीनवटा पोका बनाएर लुकाइछिपाइ राखिएको ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ १६ ग्राम ५४ मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

उक्त पदार्थ सहित प्रहरीले शिवसताक्षी नगरपालिका–१ निवासी २४ वर्षीय बुद्धिराज लिम्बू र २७ वर्षीय कृष्णप्रसाद खरेललाई नियन्त्रणमा लिएको छ। उनीहरू सवार मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिई दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखेको जनाएको छ।

मोटरसाइकलको सामान्य देखिने पछाडिको बत्तीभित्रै लागूऔषध लुकाएर ओसारपसार गर्ने प्रयास भएको यो घटनाले सीमावर्ती क्षेत्रमा हुने लागूऔषध नियन्त्रणको चुनौतीलाई फेरि उजागर गरेको छ।

प्रकाशित मिति: २०२६-११-१४ , समय : १९:४१:२५ , २६ मिनेटutes अगाडि

error: Content is protected !!