गोरु तस्करी नियन्त्रणका क्रममा झडप, सशस्त्र प्रहरीको बल प्रयोगबाट एक जना घाइते

झापा एक्सप्रेस , ८१८  पटक हेरिएको

झापा एक्सप्रेस । झापा गाउँपालिकाको रसुनगञ्ज सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरिएका गोरु नियन्त्रणमा लिने क्रममा झडपको अवस्था सिर्जना हुँदा एक जना स्थानीय घाइते भएका छन्।

स्रोतका अनुसार मिति २०८३ कात्तिक २१ गते राति करिब ११ बजे सशस्त्र प्रहरीले १८ वटा गोरु नियन्त्रणमा लिने क्रममा झडपको स्थिति उत्पन्न भएको थियो। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले बल प्रयोग गर्दा झापा गाउँपालिका–२ का ४१ वर्षीय विनोद बराइली घाइते भएका हुन्। उनको दाहिने खुट्टाको तिघ्रामा चोट लागेको छ। हाल उनको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३८ रिजर्भ गण झापाबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार बस्नेतको कमाण्डमा खटिएको २५ जनाको टोलीले नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेका १८ वटा गोरु नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएका चौपायाको अनुमानित मूल्य ५ लाख ४० हजार रुपैयाँ रहेको जनाईएको छ।

घटनाबारे हिजो दिउँसो १ बजे इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी गराएपछि इप्रका कुमरखोदबाट प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा टोली खटिएको थियो । ती चौपाया बीओपी टाँघनडुब्बाको कार्यालयबाट भन्सार कार्यालय बुझाइएको थियो । भन्सार कार्यालयमा २ लाख ५५ हजार रुपैयाँ तिरेर व्यापारीहरुले नै ती चौपाया लिएर गएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २०२६-११-०९ , समय : १०:२३:०१ , १ घन्टा अगाडि

error: Content is protected !!