झापा एक्सप्रेस , ९०२ पटक हेरिएको
दीपावलीको अवसरमा शरणामतीमा बृहत् सांस्कृतिक नृत्य कार्यक्रम हुँदै, प्रथम हुनेलाई १५ हजार पुरस्कार
झापा । दीपावलीको पावन अवसर पारेर झापाको शरणामतीमा बृहत् सांस्कृतिक नृत्य कार्यक्रम आयोजना हुने भएको छ। शरणामती युवा परिवारको आयोजनामा आगामी कात्तिक २२ गते आइतबार झापा गाउँपालिका–६ स्थित शरणामती चोकमा कार्यक्रम हुन लागेको हो।
स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ। साँझ ८ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी हुने नृत्य समूह तथा एकल प्रतिस्पर्धीका लागि आकर्षक पुरस्कारसमेत राखिएको छ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, द्वितीय हुनेले ११ हजार रुपैयाँ र तृतीय हुनेले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै ट्रफीको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार नृत्य प्रस्तुति नेपाली गीतमा आधारित हुनुपर्नेछ। सहभागी हुन चाहनेले कात्तिक २१ गतेसम्म आफ्नो नाम र गीत दर्ता गराइसक्नुपर्नेछ। प्रारम्भिक छनोटका लागि बढीमा २० जनालाई मात्र सहभागी गराइनेछ। इच्छुक प्रतिस्पर्धीले आफूले नाचेको भिडियो क्लिप आयोजकले उपलब्ध गराएको ह्वाट्सएप नम्बरमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
छनोट भएका प्रतियोगीहरू कात्तिक २२ गते साँझ ७.३० बजेसम्म कार्यक्रमस्थलमा उपस्थित भई टोकन लिनुपर्नेछ। प्रतियोगिताको अन्तिम निर्णय निर्णायक मण्डलको हुने आयोजकले स्पष्ट पारेको छ।
दीपावलीको उत्सवलाई सांस्कृतिक र मनोरञ्जनात्मक बनाउँदै स्थानीय युवाको प्रतिभा उजागर गर्ने अपेक्षासहित कार्यक्रम आयोजना गर्न लागिएको हो। आयोजक शरणामती युवा परिवारले कार्यक्रम सफल बनाउन स्थानीयवासी, संघसंस्था तथा सहयोगी मनहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-११-०३ , समय : १८:४०:१० , ४८ मिनेटutes अगाडि