झापा एक्सप्रेस , ५६७ पटक हेरिएको
आफ्ना परिवारसँग टीका लगाउने रहर मनमै राखेर नागरिकको सुरक्षामा खटिन्छन् प्रहरी, चाडपर्वमा झन् बढ्छ जिम्मेवारी
झापा । तिहार आउँदा गाउँघरमा छुट्टै रौनक हुन्छ। घरघरमा दियो बल्छन्, देउसी–भैलो गुञ्जिन्छ, दाजुभाइ तथा दिदीबहिनी टीकाको तयारीमा जुट्छन्। परदेशमा रहेका परिवारका सदस्यसमेत सकेसम्म घर फर्किन्छन्। तर, यही चाडपर्वको माहोलमा एउटा यस्तो समूह छ, जसका लागि चाडबाड आउनु भनेको बिदा होइन, झन् बढी जिम्मेवारी थपिनु हो। त्यो समूह हो– नेपाल प्रहरी।
भाइटीकाको अघिल्लो दिन झापा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक (सई) सुबास ढुंगानालाई आफ्ना मातहतका प्रहरी कर्मचारीलाई कसरी बिदा मिलाउने भन्ने चिन्ता थियो। कार्यालयमा जम्मा १२ जना प्रहरी छन्। सबैलाई भाइटीकाको दिन परिवारसँग बसेर टीका लगाउने रहर हुन्छ। तर, सबैलाई एकैपटक बिदा दिन सम्भव छैन।
एकातिर मातहतका प्रहरी कर्मचारीको पारिवारिक चाहना र भावनालाई बुझ्नुपर्ने जिम्मेवारी छ भने अर्कोतिर चाडपर्वका बेला गाउँघरमा हुने मेला, बजार, जमघट र सम्भावित घटनालाई नियन्त्रण गर्दै शान्तिसुरक्षा कायम राख्नुपर्ने दायित्व पनि उत्तिकै छ। त्यसैले प्रहरी कर्मचारीलाई पालैपालो बिदा मिलाउनु उनका लागि सजिलो काम होइन।
यो समस्या सुबास ढुंगानाको कार्यालयको मात्र होइन। झापा गाउँपालिकामा शरणामती प्रहरी चौकी, टाघनडुब्बा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय गरी तीनवटा प्रहरी इकाइ छन्। यी तीनवटै कार्यालयमा गरी करिब २४ जना प्रहरी कार्यरत छन्। सीमित जनशक्तिका भरमा ठूलो क्षेत्रको सुरक्षा व्यवस्थापन गर्नुपर्ने उनीहरूको बाध्यता छ।
तिहारमा नागरिक रमाइरहँदा प्रहरी भने सडक, बजार, मेला र सार्वजनिक स्थलमा सुरक्षाका लागि खटिरहेका हुन्छन्। अरूका घरमा भाइटीकाको उल्लास चलिरहँदा कतिपय प्रहरी कर्मचारी भने ड्युटीमै हुन्छन्। आफ्ना दाजुभाइ वा दिदीबहिनीसँग टीका लगाउने अवसरसमेत उनीहरूले गुमाउनुपर्ने हुन्छ।
झापा गाउँपालिकाको यो एउटा उदाहरण मात्रै हो। देशभरका प्रहरी कार्यालयमा कार्यरत हजारौँ प्रहरी कर्मचारीको अवस्था यस्तै छ। नागरिकको चाडपर्व सुरक्षित र उल्लासमय बनाउन आफ्नो पारिवारिक खुसीसमेत थाती राख्ने प्रहरीको योगदानलाई हामीले कति सम्झिरहेका छौँ ?
चाडबाड सबैका लागि आउँछ, तर प्रहरीका लागि चाडबाडसँगै जिम्मेवारी पनि आउँछ। नागरिकको निधारमा टीका र घरमा खुसी देखियोस् भनेर आफ्नो निधार खाली राख्ने प्रहरीको यो त्यागलाई पनि चाडपर्वको खुसीसँगै सम्झनु आवश्यक छ।
प्रकाशित मिति: २०२६-११-११ , समय : १९:४९:०२ , ४३ मिनेटutes अगाडि