घरमै छापा मारेर स्याउ बरामद, “पसलमा बेच्न राखेको सामान अवैध भनियो” स्थानीयको आरोप

झापा एक्सप्रेस , १८७३५२  पटक हेरिएको

झापा गाउँपालिका–१ बेलायतीबारीमा सशस्त्र प्रहरीले घरमै छापा मारेर ठूलो परिमाणमा स्याउ बरामद गरेपछि स्थानीय स्तरमा विवाद उत्पन्न भएको छ। स्थानीय व्यवसायीले बिलबिजकसहित पसलका लागि ल्याइएको स्याउलाई अवैध भन्दै जफत गरिएको आरोप लगाएका छन्।
सशस्त्र प्रहरी बल टाघनडुब्बाबाट खटिएको टोलीले बेलायतीबारीका बदिरुदिन शेखको घरबाट ५४ कार्टुन स्याउ बरामद गरेको हो। सशस्त्र प्रहरी निरीक्षक नारायण तामाङको कमाण्डमा खटिएको टोलीले करिब ३ लाख २४ हजार रुपैयाँ बराबरको स्याउ नियन्त्रणमा लिएको जनाएको छ।
स्थानीय व्यवसायी शेखका अनुसार उनको लसुना बोर्डर नजिकै नेपालभित्रै “एल.के फलफूल पसल” सञ्चालनमा रहेको छ। पसल दर्ता, प्यान नम्बर लगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको उनले बताएका छन्। उनले पसलमा बिक्रीका लागि ल्याइएको स्याउ अस्थायी रूपमा घरभित्र स्टोर गरेर राखिएको अवस्थामा सशस्त्र प्रहरीले छापा मारेर जफत गरेको दाबी गरेका छन्।
“बिलसहित आएको सामान हो, घरमै राखेको अवस्थामा उठाएर लगियो,” शेखले बताएका छन्। भिडियोमा समेत उनले आफू वैधानिक व्यवसायी भएको दाबी गरेका छन्।

घटनामा इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक चुक्तबहादुर बिष्टको कमाण्डमा समेत टोली खटिएको बताइएको छ।

यता सशस्त्र प्रहरीले भने प्राप्त सूचनाका आधारमा सामानमाथि निगरानी गरिएको जनाएको छ। भारततर्फ लैजान खोजिएको तथा घरमा शंकास्पद रूपमा भण्डारण गरिएको सूचनापछि सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको भनाइ छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको घर बेलायतीबारीमा रहेको भए पनि सम्बन्धित फलफूल पसल लसुना क्षेत्रमा रहेको र दुवै स्थानबीच करिब एक किलोमिटर दूरी भएकाले सामानमाथि शंका उत्पन्न भएको थियो।

सशस्त्र प्रहरी ऐनका अनुसार विशेष अवस्थामा घर खानतलासी गर्ने अधिकार सुरक्षाकर्मीलाई भए पनि घरधनीलाई जानकारी दिनुपर्ने व्यवस्था रहेको कानुनी जानकारहरू बताउँछन्। सशस्त्र प्रहरीले आवश्यक जानकारी तथा लिखित कागजात उपलब्ध गराएर घर खानतलासी गरेको बताएको छ।

प्रकाशित मिति: २०२६-०५-१७ , समय : २१:१७:२० , ४ हप्ता अगाडि

error: Content is protected !!