झापा गाउँपालिकामा अवैध रूपमा माटो उत्खनन गर्ने JCB र दुई ट्र्याक्टर नियन्त्रणमा, १ लाख ३० हजार जरिवाना

झापा एक्सप्रेस , १००५९  पटक हेरिएको

झापा । झापा गाउँपालिकामा अवैध रूपमा माटो उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एउटा JCB र दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

मंसिर २ गते राति करिब ११:३० बजे झापा गाउँपालिका–३ झाँटीस्थित सानो माईखोलाको पुलबाट करिब १०० मिटर भित्र बगरमा अवैध रूपमा माटो उत्खनन भइरहेको विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरिक्षक सुबास ढुङ्गाना र प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी सहायक निरिक्षक कृष्ण गिरीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले माटो उत्खनन गर्दै गरेको को १ क २३९४ नम्बरको JCB तथा माटो लोड गरिरहेका मे १ त ५९४६ र मे १ त ७६६४ नम्बरका दुईवटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन झापा गाउँपालिकाको कार्यालय परिसरमा राखेको थियो। घटनापछि गाउँपालिकाले सम्बन्धित पक्षबाट १ लाख ३० हजार रुपैयाँ जरिवानासमेत असुल गरेको छ।

स्थानीय खोलानाला तथा नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको जनाएको छ।

प्रकाशित मिति: २०२६-११-२० , समय : १४:३४:२१ , १२ घन्टा अगाडि

error: Content is protected !!