खेती गरेर छोरालाई पढाए, छोराले एमबिबिएसमा नाम निकाले; सकिल र सोनुलाई गाउँपालिकाको सम्मान

झापा एक्सप्रेस , ९२७  पटक हेरिएको

झापा। ग्रामीण परिवेश, सामान्य पारिवारिक अवस्था र खेतीपातीबाट जुटाएको आम्दानी। यही संघर्षका बीच छोराहरूलाई उच्च शिक्षा दिलाउने सपना बोकेका दुई परिवारका छोरा अहिले सफलताको उदाहरण बनेका छन्।

झापा गाउँपालिका–३ का सकिल अहमद हकले चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबिबिएस प्रवेश परीक्षामा छैटौँ स्थान हासिल गरेका छन्। त्यस्तै, झापा गाउँपालिका–१ लसुना निवासी सोनु गणेशले पनि एमबिबिएस अध्ययनका लागि नाम निकाल्न सफल भएका छन्।

दुवैको यो सफलताले परिवार मात्र होइन, सिंगो झापा गाउँपालिकालाई गौरवान्वित बनाएको छ। उनीहरूको मेहनत र सफलताको कदर गर्दै झापा गाउँपालिकाले नगदसहित सम्मान गरेको छ।

गाउँपालिकाले सकिललाई ५० हजार रुपैयाँ र सोनुलाई ४० हजार रुपैयाँ नगद प्रदान गरेको हो। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियालगायतले उनीहरूलाई सम्मान गरेका थिए।

सम्मान कार्यक्रममा कार्यवाहक अध्यक्ष थपलियाले ग्रामीण क्षेत्रबाट संघर्ष गर्दै चिकित्सा शिक्षाजस्तो प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो।

यी दुई विद्यार्थीको सफलतापछाडि परिवारको लामो संघर्ष पनि जोडिएको छ। उनीहरूका बुबाले खेतीपाती गरेर कमाएको पैसाबाट छोराहरूको पढाइ खर्च जुटाएका थिए। खेतबारीमा पसिना बगाएर जम्मा गरेको आम्दानी छोराहरूको शिक्षामा लगानी गरेकै कारण आज उनीहरू चिकित्सा शिक्षा अध्ययन गर्ने ढोकासम्म पुग्न सफल भएका छन्।

सहरका ठूला शैक्षिक संस्थामा अध्ययन गर्ने अवसर र सुविधा सहजै नपाइने ग्रामीण परिवेशबाट आएका उनीहरूको सफलता आफैँमा प्रेरणादायी छ।

सकिलको छैटौँ स्थान र सोनुको एमबिबिएस प्रवेश परीक्षामा प्राप्त सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, अभिभावकको त्याग, मेहनत र शिक्षाप्रतिको लगानीको परिणाम पनि हो।

खेतीपातीबाट छोराको भविष्य बनाउने सपना देखेका बुबाहरूको मेहनतले आज गाउँमा दुई नयाँ आशा जन्माएको छ।

प्रकाशित मिति: २०२६-११-२३ , समय : २०:२१:३१ , ३९ मिनेटutes अगाडि

error: Content is protected !!