झापा एक्सप्रेस , ४०६१ पटक हेरिएको
झापा गाउँपालिकामा यस वर्षको उभौली पर्व भव्य रूपमा मनाइने भएको छ। किराँत राई यायोक्खा झापा गाउँपालिकाको आयोजनामा बैशाख २७ गते झापा गाउँपालिका–६ स्थित रानीबनमा रहेको किराँत माङ्खिम मन्दिर परिसरमा विशेष सांस्कृतिक कार्यक्रमसहित उभौली पर्व आयोजना गर्न लागिएको हो।
उक्त कार्यक्रममा झापासहित शिवसताक्षी, कनकाई लगायत विभिन्न स्थानबाट साकेला नृत्य टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। परम्परागत भेषभूषा, बाजागाजा र सामूहिक साकेला नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
किराँत राई यायोक्खा झापा गाउँपालिकाका अध्यक्ष सुब्रत चन्द्र राईले सम्पूर्ण समुदाय तथा संस्कृतिप्रेमीलाई कार्यक्रममा उपस्थित भई पर्वलाई सफल बनाउन आग्रह गर्नुभएको छ। उहाँका अनुसार रानीबनस्थित किराँत माङ्खिम क्षेत्रमा विगत २० वर्षअघिदेखि निरन्तर रूपमा उभौली पर्व मनाउँदै आइएको छ।
किराँत समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहेको उभौली प्रकृतिपूजासँग जोडिएको पर्व हो। खेतीपाती सुरु हुने समय अर्थात् गर्मीयामको आगमनसँगै यो पर्व मनाइन्छ। उभौली शब्दको अर्थ “उभो अर्थात् माथितिर लाग्ने” भन्ने बुझिन्छ। परम्पराअनुसार गर्मी सुरु भएपछि चराचुरुङ्गी तथा जीवजन्तुहरू लेकतिर उक्लने विश्वासका आधारमा यस पर्वको नामकरण गरिएको मानिन्छ।
उभौली पर्वमा किराँत समुदायले भूमि, जल, वनस्पति तथा प्रकृतिप्रति सम्मान प्रकट गर्दै राम्रो वर्षा, उब्जनी र मानव कल्याणको कामना गर्ने परम्परा रहेको छ। यस अवसरमा साकेला नृत्य प्रस्तुत गरिन्छ, जसले सामूहिक एकता, संस्कृति संरक्षण र पुर्खाको सम्झनालाई जीवित राख्ने काम गर्दछ।
त्यसैगरी, उधौली पर्व भने मंसिरतिर जाडो मौसम सुरु हुँदा मनाइन्छ। उधौलीको अर्थ “ओरालो झर्ने” भन्ने हुन्छ। गर्मी सकिएपछि जीवजन्तु तथा मानिसहरू लेकबाट बेंसीतिर झर्ने सांस्कृतिक विश्वाससँग यो पर्व जोडिएको छ। किराँत समुदायले वर्षमा दुईपटक उभौली र उधौली पर्व मनाउँदै प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई निरन्तरता दिने गरेका छन्।
प्रकाशित मिति: २०२६-०५-०८ , समय : २०:५६:५४ , १० घन्टा अगाडि