१२ वर्ष विद्यालय सुधारमा समर्पित जगन्नाथ पौडेल सम्मानित, नमुना प्राविमा नयाँ समिति गठन

झापा एक्सप्रेस , २३९९  पटक हेरिएको

झापा गाउँपालिका–३ गैरीगाउँस्थित नमुना प्राथमिक विद्यालयमा १२ वर्षसम्म विद्यालय व्यवस्थापन समितिको नेतृत्व सम्हाल्दै विद्यालय विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका निवर्तमान अध्यक्ष जगन्नाथ पौडेललाई सम्मानसहित बिदाइ गरिएको छ।

विद्यालयमा आयोजित विशेष कार्यक्रममा चार कार्यकाल पूरा गरेका पौडेललाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको हो। कार्यक्रममा वक्ताहरूले पौडेलको नेतृत्वमा विद्यालयले शैक्षिक, भौतिक तथा व्यवस्थापकीय क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताएका थिए।

नयाँ संशोधित शिक्षा कानुनअनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विद्यालयकै अभिभावक हुनुपर्ने व्यवस्था लागू भएपछि पुरानो समिति विघटन गरी नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयले जनाएको छ।

निवर्तमान अध्यक्ष पौडेलले आफ्नो १२ वर्षे कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न पहल गरेका थिए। उहाँकै सक्रियतामा बाल विकासदेखि कक्षा ५ सम्म थप चार वटा अंग्रेजी विषय समावेश गरिएको विद्यालयले जनाएको छ। त्यस्तै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गर्दै विभिन्न दातृ निकाय तथा सहयोगीहरूसँग समन्वय गरी विद्यालय पोसाक र शैक्षिक सामग्री उपलब्ध गराउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यक्रममा चर्चा गरिएको थियो।

वि.सं. २०५४ सालमा स्थापना भएको उक्त विद्यालय हाल १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। विद्यालयमा सात जना शिक्षक कार्यरत रहेका छन् भने १४२ जना विद्यार्थी अध्ययनरत छन्। ग्रामीण क्षेत्रमा रहेर पनि विद्यालयले शिक्षाको गुणस्तर सुधारमा निरन्तर प्रयास गरिरहेको बताइएको छ।

शिक्षक तिलरुपा थापाले सञ्चालन गरेको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक कमला विश्वकर्माले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै निवर्तमान समितिको योगदानको प्रशंसा गरिन्।

कार्यक्रमका प्रमुख अतिथि झापा गाउँपालिका–३ का वडा अध्यक्ष सुबासलाल गणेशले विद्यालयको समग्र विकासमा स्थानीय समुदाय, अभिभावक र शिक्षकबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताए।

त्यस अवसरमा वडा सदस्य कुमार राईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयलाई अझ नमुना शैक्षिक संस्था बनाउन सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: २०२६-०५-२१ , समय : १९:४४:२७ , १ घन्टा अगाडि

error: Content is protected !!