झापा एक्सप्रेस , ५०४ पटक हेरिएको
झापा ।जङ्गली हात्तीको त्रासले वर्षभरि गरेको खेती भित्र्याउनसमेत जोखिम मोल्नुपर्ने अवस्था आएपछि झापाको बाहुनडाँगीमा किसानको सुरक्षाका लागि प्रशासन तथा सुरक्षा निकाय सक्रिय भएका छन्। हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालय झापाले पाकेर तयार भएको धानबाली समेत समयमै घर भित्र्याउन किसानलाई आग्रह गरेको छ। साथै, बाली थन्क्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।
कार्तिक २७ गते बिहान हात्तीको आक्रमणबाट एक जना घाइते भएको घटनापछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसहितको टोली बाहुनडाँगी पुगेको थियो।
स्थलगत निरीक्षणका क्रममा सुरक्षा अधिकारीहरूले खेतमै पुगेर किसानसँग छलफलसमेत गरेका थिए। किसानहरूले बढीमा पाँच दिनसम्म हात्तीको प्रवेश रोक्न सके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै आवश्यक सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेका थिए।
किसानको माग सम्बोधन गर्न जिल्लाबाट थप सुरक्षाकर्मी परिचालन गरी स्थानीय समुदायसँगको सहकार्यमा हात्तीको प्रवेश नियन्त्रण गर्ने प्रयास गरिने प्रशासनले जनाएको छ। यस क्रममा सुरक्षाकर्मीहरू आग्रह र निर्देशनमा मात्रै सीमित नभई किसानसँगै हातेमालो गर्दै धान काट्ने र ढुवानी गर्ने काममा समेत सहजीकरण गरिरहेका छन्।
हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय युवासहितको टोली तयारी अवस्थामा राखिएको छ। हात्ती प्रवेशको सूचना प्राप्त हुनासाथ टोली परिचालित हुने व्यवस्था मिलाइएको छ।
विपद्को समयमा प्रशासन, सुरक्षाकर्मी, जनप्रतिनिधि, संघसंस्था र स्थानीय नागरिक एकजुट भएर किसानको बाली जोगाउन जुटेको यो प्रयासलाई स्थानीयले उदाहरणीय भन्दै सुरक्षाकर्मी तथा सहयोगी टोलीको प्रशंसासमेत गरेका छन्।
प्रकाशित मिति: २०२६-११-१५ , समय : १९:०७:३६ , ३५ मिनेटutes अगाडि