नाकभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा दुई जना पक्राउ

झापा एक्सप्रेस , ५३४  पटक हेरिएको

झापा, असोज २० गते । लागूऔषध तस्करीका लागि मानिसहरूले अपनाउने तरिका पनि अचम्म–अचम्मका हुने गरेका छन्। झापामा प्रहरीले नाकको प्वालभित्रै ब्राउन सुगरजस्तो देखिने पदार्थ लुकाएर नेपाल प्रवेश गर्दै गरेका दुई जनालाई पक्राउ गरेको छ।

झापा गाउँपालिका–५ स्थित खाताबस्तीमा असोज १९ गते दिउँसो ३.५० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शंकास्पद व्यक्तिहरूलाई प्रहरीले चेकजाँच गर्ने क्रममा यस्तो तथ्य खुलेको हो।

प्रहरीका अनुसार कनकाई नगरपालिका–९ का ३८ वर्षीय सन्तोष चौधरीको दाहिने नाकको प्वालभित्र २ ग्राम ३ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो।

त्यस्तै, झापा गाउँपालिका–५ का २७ वर्षीय संजय दनुवारको दाहिने नाकको प्वालभित्र पनि २ ग्राम ३४ मिलिग्राम त्यस्तै पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनाको नाकबाट बरामद पदार्थको कुल तौल ४ ग्राम ६७ मिलिग्राम रहेको छ।

उनीहरूसँगै रहेका कनकाई नगरपालिका–९ का ३० वर्षीय विकास चौधरीको साथबाट भने कुनै पदार्थ फेला नपरेको प्रहरीले जनाएको छ। तर घटनामा संलग्न रहेको आशंकामा उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी शरणामतिबाट तिर्थ बहादुर भन्डारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नाकभित्रै लागूऔषध लुकाएर सीमा पार गर्ने प्रयास गरेको यो घटनाले तस्करीमा संलग्नहरूले अपनाउने नयाँ–नयाँ तरिकाप्रति सुरक्षा निकायलाई समेत थप चुनौती देखाएको छ।

पक्राउ परेकाहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-०७ , समय : ०७:५९:५३ , १ घन्टा अगाडि

error: Content is protected !!