झापा एक्सप्रेस , २६७ पटक हेरिएको
झापा । झापा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत युवालाई लक्षित गर्दै सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले ड्राइभिङ र बरिस्टा (कफी मेकर) तालिमका लागि इच्छुक युवाबाट आवेदन माग गरेको हो।
गाउँपालिकाको २०८३ असोज १९ गते जारी सूचनाअनुसार गाउँपालिकाभित्र बसोबास गर्ने इच्छुक युवाले सूचना प्रकाशित भएको मितिले १२ दिनभित्र उद्यम विकास शाखामा आवेदन पेश गर्नुपर्नेछ।
कार्यक्रमअन्तर्गत ड्राइभिङ तालिममा २० देखि ४० वर्ष उमेर समूहका युवा सहभागी हुन सक्नेछन्। तालिममा सहभागी हुने व्यक्तिले तालिमको कुल लागतको २० प्रतिशत रकम लागत साझेदारीका रूपमा स्वयं व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ।
त्यस्तै, बरिस्टा (कफी मेकर) तालिमका लागि १८ देखि ३५ वर्ष उमेर समूह तोकिएको छ।
तालिममा सहभागी हुन इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, एक प्रति फोटो र हस्तलिखित निवेदन पेश गर्नुपर्नेछ।
गाउँपालिकाले युवालाई सीप प्रदान गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम अघि बढाएको जनाएको छ। सूचनामा तोकिएको समयभित्र आवेदन पेश गर्न गाउँपालिकाले सम्बन्धित युवालाई आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-१०-०६ , समय : १४:०१:२४ , ५३ मिनेटutes अगाडि