झापा गाउँपालिकाले खरिद गर्‍यो शववाहन, नागरिकले उठाए दमकलको माग

झापा एक्सप्रेस , ३१५  पटक हेरिएको

झापा । झापा गाउँपालिकाले स्थानीयवासीलाई लक्षित गर्दै शववाहन सेवा सञ्चालनका लागि नयाँ बोलेरो गाडी खरिद प्रक्रिया सम्पन्न गरेको छ।

शोकको घडीमा मृतकको शव अन्तिम संस्कारका लागि घाटसम्म लैजान यातायातको असुविधा नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्नै स्वामित्वमा शववाहन खरिद गरेको हो। आवश्यक पूर्वतयारी तथा व्यवस्थापनका काम सम्पन्न भएपछि सेवा सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ।

तर, यतिबेला स्थानीयवासीले गाउँपालिकामा अत्यावश्यक दमकलको व्यवस्था गर्नुपर्ने मागसमेत उठाएका छन्।

झापा गाउँपालिका क्षेत्रका विभिन्न बस्तीमा आगलागीको जोखिम रहने भए पनि आफ्नै दमकल नहुँदा आगलागीका बेला अन्य स्थानीय तह वा सम्बन्धित निकायको दमकलमा निर्भर हुनुपर्ने अवस्था रहेको नागरिकहरूको भनाइ छ। विशेषगरी विपद्को समयमा तत्काल सेवा उपलब्ध गराउन दमकललाई पनि प्राथमिकतामा राख्नुपर्ने स्थानीयवासीको माग छ।

नागरिकका अनुसार शववाहनले शोकको समयमा महत्वपूर्ण सहयोग पुर्‍याउने भए पनि आगलागी तथा अन्य विपद्का बेला तत्काल परिचालन गर्न सकिने दमकल पनि स्थानीय सरकारको अत्यावश्यक सेवामध्ये एक हो।

गाउँपालिकाले भने नागरिकको सुख–दुःखमा साथ दिने उद्देश्यले सेवा तथा पूर्वाधार विस्तार गर्दै आएको जनाएको छ। अब नागरिकले उठाएको दमकलको मागलाई समेत गाउँपालिकाले कसरी सम्बोधन गर्छ भन्ने विषयमा स्थानीयवासीको चासो बढेको छ।

प्रकाशित मिति: २०२६-१०-०५ , समय : १२:२३:०१ , ५८ मिनेटutes अगाडि

error: Content is protected !!