भागुडुब्बा च्याम्पियन: रोमाञ्चक फाइनलमा रंगेलीमाथि ४ विकेटको जित

झापा एक्सप्रेस , ५२२५  पटक हेरिएको

झापा — झापा गाउँपालिका–६ शरणामतीमा सम्पन्न टी–१० क्रिकेट प्रतियोगिताको उपाधि भागुडुब्बा क्रिकेट क्लबले जितेको छ। रोमाञ्चक फाइनल खेलमा रंगेली क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै भागुडुब्बा च्याम्पियन बनेको हो।

फाइनलमा टस जितेर पहिले बलिङ रोजेको भागुडुब्बाविरुद्ध रंगेलीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको भागुडुब्बाले ९.३ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै शानदार जित हात पार्यो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका अमित राजवंशी ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको छ। ‘बेस्ट ब्याट्सम्यान’ रोहित राजवंशी घोषित भए भने ‘बेस्ट बलर’ राकेश रोय र ‘बेस्ट अलराउण्डर’ बन्टी रोय घोषित भए।

विजेता भागुडुब्बा क्रिकेट क्लबले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता रंगेली क्रिकेट क्लबले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

शरणामती राइजिङ स्टार क्रिकेट क्लबको आयोजनामा सम्पन्न प्रतियोगिता भरि दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो, जसले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो।

प्रकाशित मिति: २०२६-०४-२१ , समय : २१:४८:२० , ३ घन्टा अगाडि

error: Content is protected !!