अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय विस्तारमा सहयोग, ४५ लाभग्राहीलाई सामग्री वितरण

Jhapa Express , ३१६१  पटक हेरिएको

झापा गाउँपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई नवप्रवर्द्धन तथा व्यवसाय विस्तारका लागी सहयोग प्रदान गरेको छ। गाउँपालिकाले विभिन्न आयआर्जन तथा व्यवसाय सञ्चालनमा सहयोग पुग्ने सामग्री ४५ जना लाभग्राहीलाई वितरण गरेको हो।

कार्यक्रमअन्तर्गत मकै रोप्ने मेसिन ३४ थान, प्रिन्टर ४ थान तथा धूप बनाउने व्यवसायका लागि ३ जनालाई नेपाली कागज, धूप बनाउने मसला, प्याकिङ गर्ने आइरन र प्लास्टिक प्रदान गरिएको छ। यस्तै, कुखुरा पालनका लागि एक जनालाई सिलिङ फ्यान, जाल फ्यान, पानी तथा चारो खाने भाँडालगायत सामग्री दिइएको छ।

सिलाई मेसिन सेट, कुशन बनाउने सामग्री तथा वडा नम्बर ६ को संरक्षण मिलिजुली समूहलाई साबुन बनाउने सामग्रीसमेत वितरण गरिएको छ।

कुखुरा पालनका लागि पंखा, पानी र चारो खाने भाँडालगायत सामग्री पाएका टीकाराम आचार्यले सहयोगले व्यवसाय सञ्चालनमा सहज हुने बताउनुभयो। उहाँले स्थानीय तहबाट प्राप्त सहयोगले आफूहरूलाई आत्मनिर्भर बन्न हौसला मिलेको बताउनुभयो।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगमा मात्र सीमित नराखी आयआर्जन र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो।

कार्यक्रममा करुणा फाउन्डेसनका प्रतिनिधिले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र आवश्यकताअनुसार सहयोग उपलब्ध गराउँदा उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

प्रकाशित मिति: २०२६-०८-१२ , समय : २१:३८:०५ , ९ घन्टा अगाडि

error: Content is protected !!