भोटेकोशी बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाख २८ हजार रुपैयाँ सहयोग गर्ने

Jhapa Express , ६३८  पटक हेरिएको

झापा — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि झापा गाउँपालिकाले २५ लाख २८ हजार २ सय ८८ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले भदौ १५ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको हो।

गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ तथा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिबाट ६० हजार रुपैयाँ सहयोग गर्ने जनाएको छ। त्यसैगरी गाउँपालिकामा कार्यरत कर्मचारीहरूले समेत आफ्नो तलबबाट सहयोग गरेका छन्।

कर्मचारीतर्फ अधिकृतस्तरका कर्मचारीको ७ दिन, सहायकस्तरका कर्मचारीको ५ दिन तथा श्रेणीविहीन/सहयोगीस्तरका कर्मचारीको २ दिन बराबरको तलब गरी ७ लाख ३८ हजार ८ सय ७९ रुपैयाँ सहयोग संकलन गरिएको छ।

त्यस्तै, गाउँपालिकाअन्तर्गत कार्यरत शिक्षकहरूले समेत तलबबाट सहयोग गरेका छन्। शिक्षकतर्फ माध्यमिक द्वितीय श्रेणीदेखि निम्नमाध्यमिक द्वितीय, प्राथमिक तह प्रथम श्रेणीदेखि सुरु तलब स्केलसम्मका शिक्षकको फरक–फरक दिनको तलब कट्टा गरी १५ लाख २९ हजार ४ सय ९ रुपैयाँ सहयोग जुटाइएको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिकाले विपद्का बेला मानवीय संवेदना, सहयोग र आपसी एकतामार्फत प्रभावित नागरिकलाई राहत र भरोसा दिनुपर्ने जनाएको छ।

प्रकाशित मिति: २०२६-०८-३१ , समय : २०:३७:५५ , ५३ मिनेटutes अगाडि

error: Content is protected !!