झापा एक्सप्रेस , १५५८ पटक हेरिएको
शरणामती, झापा — झापा गाउँपालिका वडा नम्बर ३ रंगपुरमा तेस्रो वडाध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। जुनतारा युवा क्लबको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष कमल बस्नेतका अनुसार प्रतियोगिता बैशाख ३ गतेदेखि ८ गतेसम्म रंगपुरस्थित क्लबकै खेल मैदानमा सञ्चालन हुनेछ। नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिताले स्थानीय खेलकुद प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ।
प्रतियोगितामा विजेता टिमले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। आयोजक समितिका बस्नेतका अनुसार प्रतियोगितालाई प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउन आवश्यक तयारी तीव्र पारिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमका लागि दर्ता शुल्क २ हजार ६ सय रुपैयाँ तोकिएको छ। दर्ता गर्ने अन्तिम मिति चैत्र २९ गतेसम्म रहेको आयोजकले जनाएको छ।
यसैबीच, खेल फिफाको नियमअनुसार सञ्चालन गरिने र प्रत्येक टिममा ११/११ खेलाडी रहने तथा अतिरिक्त ४ जना खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। खेलाडीले जर्सी, बुट र प्याड अनिवार्य लगाउनुपर्नेछ भने खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा अन्तिम निर्णय आयोजक समितिकै हुने जनाइएको छ।
स्थानीय स्तरमा खेलकुद गतिविधि बढाउँदै युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।
प्रकाशित मिति: २०२६-०४-०८ , समय : १९:३१:५१ , ४ घन्टा अगाडि