रानी सामुदायिक वनमा आर्थिक अनियमितताको आरोप, छानबिन समितिले प्रतिवेदन बुझायो

झापा एक्सप्रेस , १६९८  पटक हेरिएको

झापा गाउँपालिका स्थित रानी सामुदायिक वन उपभोक्ता समितिमा आर्थिक अनियमितता भएको आरोप सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरिएको छ। आर्थिक हिनामिना भएको भन्दै उपभोक्ताबाट व्यापक आवाज उठेपछि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन नवगठित समितिका अध्यक्ष मदनकुमार भण्डारीलाई बुझाएको हो।

वन उपभोक्ताहरूले अघिल्लो कार्यसमितिले पेश गरेको लेखा प्रतिवेदनमा शंका व्यक्त गर्दै त्यसलाई अनुमोदन गर्न अस्वीकार गरेका थिए। त्यसपछि उपभोक्ताहरूको मागअनुसार उमाराम रिजालको संयोजकत्वमा आर्थिक छानबिन समिति गठन गरिएको थियो।

समितिले अध्ययन, कागजात परीक्षण तथा सरोकारवालासँग छलफलपछि तयार पारेको प्रतिवेदनमा विभिन्न आर्थिक प्रक्रियामा कमजोरी देखिएको औंल्याइएको छ। प्रतिवेदनमा निर्णयबिना खर्च गरिएको, बैठकको स्पष्ट निर्णयबिना भत्ता तथा अन्य रकम निकासा गरिएको र केही खर्चका कागजातमा स्पष्टता नभएको उल्लेख गरिएको बताइएको छ। साथै प्रदेश सरकारबाट प्राप्त योजनाको कार्यान्वयनमा पनि प्रक्रिया पूरा नभएको र आवश्यक प्रतिवेदन तथा अभिलेख व्यवस्थित नरहेको तथ्य औंल्याइएको छ।यस्ता अपारदर्शी खर्चमा देखिएको रकम २ लाख ७2 हजार भन्दा बढी रहेको र अघिल्लो कार्यसमितिमा असुल उपर गर्न समेत छानबिन समितले सुझाव दिएको छ .

छानबिन समितिले आर्थिक निर्णय पारदर्शी बनाउन, लेखा परीक्षण नियमित गर्न र निर्णयविपरीत गरिएको खर्चको जिम्मेवारी निर्धारण गर्न सुझाव दिएको छ।

उक्त विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको बताइएको छ। अबको नयाँ समितिले प्रतिवेदनका आधारमा आवश्यक निर्णय तथा थप कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-१५ , समय : २१:२१:४३ , ४ घन्टा अगाडि

error: Content is protected !!