Jhapa Express , ३२४४६ पटक हेरिएको
झापा, साउन २२ । झापा गाउँपालिकाका सातै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लाभग्राहीहरूको विवरण अद्यावधिक गर्न धमाधम फारम संकलन भइरहेको छ।
जिल्ला भूमि समस्या समाधान समितिको पत्राचारअनुसार, यसअघि निवेदन दिएका तथा राष्ट्रिय भूमि आयोगको सूचना प्रणाली (NALCIS) मा दर्ता भएका वा निस्सा प्राप्त गरेका व्यक्तिहरूबाट आवश्यक कागजातसहित पुनः निवेदन लिने कार्य सुरु गरिएको हो। गाउँपालिकाले सबै वडामार्फत सम्बन्धित लाभग्राहीलाई २१ दिनभित्र आवश्यक कागजात बुझाउन आग्रह गरेको छ।
फारम भर्न आउनेको संख्या दिनप्रतिदिन बढ्दै गए पनि धेरै सेवाग्राहीको नाम NALCIS प्रणालीमा दर्ता नरहेको पाइएको छ। जसका कारण कतिपय नागरिक अन्योलमा परेका छन्।
झापा गाउँपालिका–६ का वडाध्यक्ष नवीन किशोर थापाका अनुसार प्रणालीमा नाम नदेखिएका नागरिकहरू आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै भविष्यमा नयाँ आवेदनका लागि पुनः फारम खुलाइने जानकारी दिएका छन्।
हालका लागि प्रणालीमा नाम भएका तथा निस्सा प्राप्त गरेका व्यक्तिहरूले मात्रै आवश्यक कागजातसहित निवेदन बुझाउनुपर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले नागरिकलाई सम्बन्धित वडा कार्यालयबाट थप जानकारी लिन समेत अनुरोध गरेको छ।
प्रकाशित मिति: २०२६-०८-०७ , समय : २०:१७:४९ , ५ दिन अगाडि