झापा गाउँपालिकामा भूमि प्रशासन सेवाको औपचारिक शुभारम्भ

Jhapa Express , ३१९०८  पटक हेरिएको

झापा गाउँपालिकामा भूमि प्रशासन सेवाको औपचारिक शुभारम्भ गरिएको छ। सेवा सञ्चालनमा आएसँगै अब स्थानीय नागरिकहरूले जग्गासम्बन्धी विभिन्न प्रशासनिक सेवा आफ्नै गाउँपालिकाबाट छिटो, छरितो तथा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

मंगलबार आयोजित एक कार्यक्रमबीच गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले भूमि प्रशासन सेवाको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाले यस सेवाको सुरुवातसँगै भूमि प्रशासनसम्बन्धी सेवामा नागरिकको पहुँच विस्तार हुने, सेवा लिन जिल्ला सदरमुकाम वा अन्य कार्यालय धाउनुपर्ने बाध्यता कम हुने तथा समय र खर्चको समेत बचत हुने विश्वास व्यक्त गरेको छ।

कार्यवाहक अध्यक्ष थपलियाले स्थानीय तहबाटै प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यअनुरूप भूमि प्रशासन सेवा सञ्चालनमा ल्याइएको बताउँदै नागरिकलाई सहज, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

भूमि प्रशासन सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी विभिन्न प्रशासनिक कार्यहरू स्थानीय स्तरमै सम्पादन गर्न सहज हुने अपेक्षा गरिएको छ। गाउँपालिकाले आगामी दिनमा पनि नागरिकमैत्री सेवा विस्तार गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जनाएको छ।

प्रकाशित मिति: २०२६-०८-०७ , समय : २०:११:३५ , ५ दिन अगाडि

error: Content is protected !!