गरिबी निवारण कार्यक्रमअन्तर्गत झापा गाउँपालिकाद्वारा १३ वटा सिलाई मेसिन हस्तान्तरण

Jhapa Express , ७६३२३  पटक हेरिएको

झापा। झापा गाउँपालिकाले गरिबी निवारणका लागि सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नं. १ र वडा नं. ३ का लाभग्राहीलाई जम्मा १३ वटा सिलाई मेसिन हस्तान्तरण गरेको छ। आर्थिक रूपमा विपन्न तथा स्वरोजगारको अवसर खोजिरहेका नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो।

सिलाई मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले सीपसँगै आवश्यक सामग्री उपलब्ध गराउँदा स्थानीय नागरिकको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले लघु उद्यम विकास कार्यक्रमले विशेषगरी महिला, दलित, विपन्न तथा बेरोजगार वर्गलाई आफ्नै गाउँठाउँमा स्वरोजगार सिर्जना गर्न सहयोग पुग्ने बताउनुभयो।

उहाँका अनुसार गाउँपालिकाले गरिबी न्यूनीकरण र आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आयमूलक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। सिलाई व्यवसायमार्फत लाभग्राहीले आफ्नै घरबाट व्यवसाय सञ्चालन गरी परिवारको आर्थिक अवस्था सुधार गर्न सक्ने गाउँपालिकाको विश्वास छ।

गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय आवश्यकताअनुसार सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा स्वरोजगार सिर्जनामा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै नागरिकको जीवनस्तर उकास्ने अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।

प्रकाशित मिति: २०२६-०८-०२ , समय : ०९:५५:२८ , २ हप्ता अगाडि

error: Content is protected !!