झापा एक्सप्रेस , १०४४ पटक हेरिएको
झापा, असार ११ । झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ।
साँझ करिब ७ बजे रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी लोड गरिएको ट्रिफरले पैदल हिँडिरहेकी बिर्तामोड–३ निवासी किशोर चापागाईकी १० वर्षीया छोरी अनुकृती चापागाईलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी अनुकृतीलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले साँझ ७:२५ बजे उनलाई मृत घोषणा गरेका थिए। बालिकाको शव हाल अस्पतालको शवगृहमा राखिएको छ।
घटनापछि ट्रिफर चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न ट्रिफर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घटनास्थलमा स्थानीयवासीको ठूलो भीड जम्मा भएको थियो। घटनास्थलमा करिब ४ सय जना र प्रहरी चौकी बिर्ताबजार परिसरमा करिब १ सय ५० जना स्थानीय भेला भई विरोध जनाएका थिए। स्थिति नियन्त्रणमा लिन तथा थप अनुसन्धानका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०६-२५ , समय : २१:४०:०४ , ३ घन्टा अगाडि