झापा एक्सप्रेस , ८१४६ पटक हेरिएको
झापा । झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा पछाडि डाली भएको चारपाङ्ग्रे गाडी खरिदका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको छ।
गाउँपालिकाको पूर्वाधार विकासतर्फको बजेट विवरणअनुसार उक्त रकम गाडी खरिदका लागि छुट्याइएको हो। गाउँपालिकाले वडा स्तरीय योजना, गाउँस्तरीय गौरवका आयोजना, विपन्न आवास कार्यक्रम तथा अन्य विकास निर्माणका कार्यक्रमसँगै सवारी साधन खरिदका लागि पनि बजेट व्यवस्था गरेको देखिएको छ।
झापा गाउँपालिकाको भौगोलिक क्षेत्र ठूलो रहेकाले विकास निर्माणका सामग्री ढुवानी, सरसफाइ तथा अन्य प्राविधिक कामका लागि यस्ता सवारी साधन आवश्यक हुन सक्ने स्थानीयको भनाइ छ। यद्यपि, गाडी कुन प्रयोजनका लागि खरिद गर्न लागिएको हो भन्नेबारे गाउँपालिकाले हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।
यसैबीच, गाउँपालिकामा लामो समयदेखि दमकलको आवश्यकता महसुस हुँदै आएको छ। आगलागीका घटनामा अन्य स्थानीय तहको दमकलको भर पर्नुपर्ने अवस्था रहेकाले स्थानीयवासीले दमकल व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने आवाज उठाउँदै आएका छन्।
बजेटमा उल्लेख गरिएको ३५ लाख रुपैयाँको गाडी शववाहन (हेर्स) का रूपमा ल्याइने हो वा अन्य कुनै सेवाका लागि प्रयोग गरिने हो भन्ने विषय भने अझै खुल्न बाँकी छ। गाउँपालिकाले आगामी दिनमा यसबारे स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२६-०६-२५ , समय : २१:२५:०३ , १ दिन अगाडि