खानाको बटामा लुकाएर ब्राउन सुगर ओसारपसार गर्ने दुई जना पक्राउ

झापा एक्सप्रेस , १५७७  पटक हेरिएको

झापा एक्सप्रेस — झापा जिल्लाको कनकाई नगरपालिका वडा नं. ५ तल्लो चाप्रामारी क्षेत्रबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
मिति २०८३ साल वैशाख ४ गते (आज) करिब बिहान ११:३० बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गरी उनीहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो।
प्रहरीले झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको BR 37R 1866 नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनीहरूले बोकेको हाते झोलाभित्र रहेको खानाको बटामा लुकाइछिपाइ राखिएको ६ पोका ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरेको जनाएको छ। उक्त पदार्थको तौल ५६३ ग्राम ६२० मिलिग्राम रहेको छ।
पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं. ४ निवासी २२ वर्षीय साफिक उलमिया र भारतको डिगलबैंक थाना वडा नं. १ निवासी २२ वर्षीय निसार आलम रहेका छन्।
उनीहरूको साथबाट ३ थान VIVO मोबाइल र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेकामाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २०२६-०४-१७ , समय : १९:२२:३६ , ४ घन्टा अगाडि

error: Content is protected !!