झापा एक्सप्रेस , ८७१ पटक हेरिएको
झापा — झापा गाउँपालिका मा प्राकृतिक विपद्बाट प्रभावित किसानहरूले गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
व्यावसायिक किसान तथा सरोकारवाला कृषकहरूले कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलिया तथा प्रमुख प्रशासकीय अधिकृत जनार्धन निरौला लाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।
ज्ञापनपत्रमा पछिल्लो समय आएको हावाहुरी, असिना पानी तथा अनियमित मौसमी विपद्का कारण मकै, केरा, धान, तरकारी लगायतका बालीमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ। विशेषगरी व्यावसायिक केरा खेती र मकै खेतीमा गम्भीर असर परेको भन्दै किसानहरूको उत्पादन र आम्दानीमा गिरावट आएको जनाइएको छ।
किसानहरूले प्राकृतिक प्रकोपका कारण करोडौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको र यसले कृषि क्षेत्रमा निर्भर किसानहरूको जीवनयापन नै संकटमा परेको बताएका छन्।
ज्ञापनपत्रमार्फत किसानहरूले विभिन्न माग अघि सारेका छन्, जसमा:
झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने
क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल राहत उपलब्ध गराउनुपर्ने
प्रभावित किसानका लागि पुनःस्थापना कोष स्थापना गर्नुपर्ने
कृषि बीमा तथा संरक्षण कार्यक्रम लागू गर्नुपर्ने
कर्जा पुनर्संरचना तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने लगायत रहेका छन्।
किसानहरूले राज्यका सम्बन्धित निकायसँग तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्दै कृषि उत्पादन र किसानको जीवनयापन जोगाउन आवश्यक निर्णय लिनुपर्ने बताएका छन्।
प्रकाशित मिति: २०२६-०३-२९ , समय : १९:३३:१९ , २ घन्टा अगाडि