निर्वाचन आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज हुनसक्ने चेतावनी

झापा एक्सप्रेस , ५१६  पटक हेरिएको

झापाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत झापाका मुख्य न्यायाधीश उमेशप्रसाद लुइँटेलले निर्वाचन आचारसंहिता उल्लंघन सह्य नहुने स्पष्ट पारेका छन् ।

आचारसंहिता पालना नगरे उम्मेदवारको उम्मेदवारीसमेत खारेज हुनसक्ने भन्दै उनले राजनीतिक दल र उम्मेदवारहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय झापामा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत लुइँटेलले निर्वाचन आचारसंहिता केवल नैतिक निर्देशन मात्र नभई बाध्यकारी कानुनी दस्तावेज भएको बताए । उल्लंघन प्रमाणित भए कानुनअनुसार कडा कारबाही अघि बढाइने उनले प्रस्ट पारेका थिए ।

मनोनयन दर्ताको चरणदेखि नै आचारसंहिता उल्लंघनका सम्भावना रहने उल्लेख गर्दै उनले विशेष गरी मनोनयनका दिन २५ जनाभन्दा बढी मानिस सहभागी गराउन नपाइने र अधिकतम १० वटा झन्डामात्र प्रयोग गर्न पाइने व्यवस्थाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचनको मिति नजिकिँदै गएकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

यस्तै जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले प्रचारप्रसारका क्रममा दलहरूले आफ्ना घोषणापत्रमा समेटिएका विषयवस्तु मात्र जनतासमक्ष राख्न पाउने र भ्रामक गतिविधि गर्न नपाइने व्यवस्था रहेको स्पष्ट पारेका थिए ।

सर्वपक्षीय छलफलमा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे, राप्रपा झापाका अध्यक्ष केशव ओझा, नेकपा एमालेका प्रेम गिरी लगायत विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०१-२१ , समय : १९:४४:५२ , २ घन्टा अगाडि

error: Content is protected !!