झापा एक्सप्रेस , १०९१६ पटक हेरिएको
गएको कार्तिक पहिलो साता आएको बेमौसमी मनसुनले झापाका सबै कृषकको धानबालीमा क्षति पुर्यायो।तराईको प्रमुख बाली धाननै जिविकोपार्जनको एक मात्र माध्यम हो। धानमा बेमौसमी पानीले क्षति पुर्याएपछि किसान चिन्तित बने।किसानलाई उचित राहत उपलब्ध गराउन सरकारले समेत आश्वासन दियो।
फलस्वरूप शेरबहादुर देउवा नेतृत्वको मन्त्री परिषदको बैठकले धानमा क्षति पुर्याएका किसानलाई उचित क्षतिपुर्ती दिने निर्णय नै गर्यो।यहाँका सबै स्थानीय तहले क्षतिको विवरण भरे।धनिपुर्जाका फोटो कपी,बैंक खाता सबै विवरण टिपाएर सम्बन्धित वडामा जिम्मा लगाए।किसानले सरकारबाट केही पाउने आशामा विवरण भर्न चाहिने कागजात पनि धेरै सास्तीका साथ भरेका थिए।धेरै जग्गाधनीका त बैंक खाता सम्म थिएनन् ।दौडधुपमै धानबालीमा पुर्याएको क्षतिको राहत पाउने आशामा रहेका किसानको धैर्यता यतिखेर टुट्न लागेको छ।
विवरण भरेको छ महिना हुनै लाग्दा पनि राहत रकम उपलब्ध हुन सकेको छैन।प्राकृतिले पनि ठगेका किसानलाई सरकारले बारम्बार आशा देखाएर निरास बनाएको उदाहरण प्रसस्त देखिन्छ।पिडामा रहेका किसानको धैर्यताको वाद टुट्न लागेको छ।हरेक बेमौसमी प्राकृति प्रकोपमा सरकार रमिते बनेको प्रतीत हुन्छ।बेमौसमी पानी आउँछ,हावाहुरी सहित असिना पर्छ।अथाह सपना सजाएर जिविकोपार्जन हुन्छ भन्ने सपना सजाएका किसानका बालीमा क्षति पुर्याएर जान्छ।सरकार फोटो खिचाउन र आश्वासन दिन खेतमै पुग्छ अनि कुर्सीमा आएर क्षति विवरण टिपाउन आदेश दिन्छ।बिचरा किसान हतार -हतार सम्बन्धित वडा गएर विवरण टिपाउँछन् महिनौँ बित्छ न त सरकार फेरि खेतमा फोटो खिचाउन नै जान्छ न त राहत रकमनै उपलब्ध गराउँछ।केवल यो त यहाँबाट आउनु पर्ने हो भन्दै पन्छिन खोज्छ बहानाबाजी गर्छ।
आइतबार भर्खरै हावाहुरी सहित परेको असिना पानीले झापा लगायत झापा गाउँपालिकाका किसानले लगाएका मकै, खर्वुजा साथै तरकारी खेतीमा करोडको क्षति पुर्यायो।पुन:सरकारले विवरण टिपाउन भन्यो।किसान हतार-हतार केही पाइन्छ कि भनेर विवरण टिपाउदैछन।के विवरण टिपाएर फेरि राहत रकम दिने हो सरकार?नदिने भए किसानलाई आशा देखाएर कति दिन निरास पार्ने?तिम्रा आश्वासनका मिठा लड्डु किसानले कहिले सम्म खाने?
हाम्रो देशका किसानलाई सरकार भएको अनुभुति कहिले दिलाउने सरकार?रसायनिक मल पनि समयमा उपलब्ध गरिदैन।किसान नरहे सरकार रहन्छ र सरकार?कृषि उपजलाई मलजल नगरी कृषि यान्त्रीकरण भन्ने नाराले सार्थकता पाउला र सरकार?
नेपाल कृषि प्रधान देश।देशको अर्थतन्त्रको मेरुदण्ड कृषिलाई बनाउने कि कृषिजन्य सामग्री विदेशबाट आयात गरेर देशको अर्थतन्त्र धरासायी बनाउने।अब सरकारले सोच्नै पर्ने बेला भएको छ।बैंक र वित्तिय सस्थामा समेत पैसा नभएको बेला आफ्नो उत्पादनलाई हौसला दिन आवश्यक छ।आफ्ना कृषि जन्य उत्पादनलाई बढाउदै बजारिकरण गर्दै आयातलाई रोकेर बरु निर्यातलाई जोड दिदै देशको अर्थतन्त्रलाई दर्बिलो बनाउनु आजको आवश्यकता हो।बेमौसमी प्रकृति प्रकोपमा किसानको सारथि बन्दै सरकारले अरु विषयमा गर्ने फजुल खर्च नियन्त्रण गर्न जरुरी छ।
प्रकाशित मिति: २०२२-०४-१३ , समय : १९:३३:५३ , ३ वर्ष अगाडि