झापा एक्सप्रेस , १७९५२ पटक हेरिएको
भारतबाट नेपालतर्फ शङ्कास्पद रुपमा प्रवेश गर्न लागेका दुईजना बङ्गलादेशी पक्राउ परेका छन् । बुधबार दिउँसो २ बजे झापाको मेचीनगर नगरपालिका-७ स्थित गैरीगाउँ सीमा इलाकाको सानो सीमा स्तम्भ नं. ९०/३ नजिक बङ्गलादेशीहरू २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेन पक्राउ परेका हुन् । उनीहरूको साथबाट भिभो मोबाइल १ थान, सामसुङ मोबाइल १ थान, बङ्गलादेशी टाका १५०० र व्यक्तिगत सामानसहित २ वटा झोला बरामद भएको छ ।
बीओपी सतिघट्टाबाट खटिएको पिकेट ड्युटीले भारतबाट नेपालतर्फ शङ्कास्पद रुपमा प्रवेश गर्दै गरेको अवस्थामा चेकजाँच गर्दा कुनै पनि परिचयपत्र नभएको र आफ्नो स्थायी वतन बङ्गलादेश बताउने उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे।क्वा। झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेशराज विष्टले बताए । उनले सामानसहित आवश्यक कारबाहीको लागि दुवै जनालाई अध्यागमन कार्यालय काँकडभिट्टामा बुझाइएको जानकारी दिए ।
प्रकाशित मिति: २०२४-११-१३ , समय : १८:३४:५१ , ४ हप्ता अगाडि