सरकारबाट उपेक्षित ‘सडक मजदुर ‘

झापा एक्सप्रेस , ५४६००  पटक हेरिएको

पुष्प खड्का
वृद्ध शरिर, मलिन अनुहार, हातमा फरुवा र बेल्चा । सुन्तले रंगको क्याप र अस्कोट आकृतिको कपडा लगाएर सडक किनारामा हरेक दिनजसो देखिने एक वृद्ध । बिर्तामोड–चन्द्रगढी सडक खण्डमा विगत ३८ बर्षदेखि दैनिक सडक सफा गरिरहेको अवस्थामा भेटिने ती व्यक्ति हुन् बिर्तामोड–८ का दलबहादुर शेर्पा ।

उमेरले ७० बर्षका शेर्पा यदि हुनेखाने परिवारमा जन्मिएका भए यतिबेला घरैमा आराम गरेर बसिरहेका हुन्थे । परिवार, छरछिमेक र इष्टमित्रसँग गफिएर दिन कटाइरहेका हुन्थे । अफसोच उनलाई त्यो अवसर छैन । शनिबारबाहेक प्रत्येक दिन सडक सफा गर्नु उनको दैनिकी हो । सडक सफा गर्दा सरकारले दिने दैनिक ज्यालाबाट परिवारको गुजारा चलाउनु उनको बाध्यता हो ।

भर्भराउँदो युवा उमेरदेखि सडक सफा गर्न थालेका शेर्पालाई बुढेसकालमा चिन्ता थपिएको छ । हातपाउ बसेको दिन रित्तो हात घर जानुपर्ने पीडाले उनलाई आजकल निन्द्रा लाग्न छोडेको छ । उनी काम गर्न नसकेर घर बसेको दिनदेखि उनको कमाई हुँदैन नत कुनै उपदान वा पेन्सन नै पाउँछन् ।

शेर्पाको जस्तै ६५ बर्षीय कृष्णप्रसाद उप्रेतीको पनि उस्तै पीडा छ । २०३६ सालदेखि लेन्थ वर्कर (सडक सफाइ गर्ने)को काम गर्दै आएका बिर्तामोड ७ का उप्रेती काम गर्न नसकेको दिन केले घर चलाउने भन्ने पीडामा छन् । उनी जामुनखाडीदेखि काँकरभिट्टासम्मको सडक सफा गर्ने गर्छन । दैनिक ४ रुपैँयाबाट उप्रेतीले काम शुरु गरेका थिए ।

शेर्पा र उप्रेतीको जस्तै पीडामा छन् विगत २८ बर्षदेखि लेन्थ वर्करको काम गर्दै आएका बिर्तामोड ६ का ५४ बर्षीय शिवलाल मुसहर र २७ बर्षदेखि कार्यरत बिर्तामोड १० का ५० बर्षीय लिला राजवंशी ।

एक जना लेन्थ वर्करले ५ किलोमिटर सडक सफा गर्नुपर्छ । झापामा ३८ र देशभर करिब ३ हजार लेन्थ वर्कर कार्यरत छन् । उनीहरुको सबैको पीडा भनेको बर्षौ सरकारको काम गरेर रित्तो हात घर फर्कनु । उनीहरुले दैनिक ८ सय रुपैँया ज्याला बाहेक अरु कुनै सेवा सुविधा पाउँदैनन् । विगत केहि बर्षदेखि दशैँ भत्ता पाउन थालेका छन् । त्यसबाहेक न उनीहरुलाई सरकारले विरामी विदा दिन्छ न अन्य कुनै सुविधा नै । दशकौँ काम गरेपनि उनीहरुले उपदान वा पेन्सन केहि सुविधा पाउँदैनन् । हप्तामा एक दिन विदा बल्लतल्ल पाएको उनीहरु सुनाउँछन् । शरिरमा तागत रित्तिएपछि हातपनि रित्तो लिएर घर फर्कनुपर्ने उनीहरुको दुर्गती छ ।

राज्यले हजारौँ लेन्थ वर्करहरुको दशकौँदेखि श्रम शोषण गरिरहेको छ । उनीहरुको श्रमशोषणको प्रमुख माध्यम बनेको छ बर्षेनी गरिने करार । एउटा फोटो र नागरिकता लिएर डिभिजन सडक कार्यालयले उनीहरुको करार बर्षेनी नविकरण गर्ने गरेकोछ । दशकौँसम्म करारमा काम लगाएर राज्य नागरिकको सामाजिक सुरक्षाको दायित्वबाट पन्छिरहेको छ । लेन्थ वर्करहरु राज्यको लागि उपभोगको साधन बनेका छन् । आवश्यकता रहुञ्जेल प्रयोग गरिनु र खाली हात विदा गरिनु उनीहरुको नियती हो ।

आफ्नो हक अधिकारका लागि उनीहरुले बर्षौसम्म बार्षिक १ हजार रुपैँया स्वतन्त्र सडक मजदुर ट्रेड युनियन महासंघलाई बुझाएपनि कुनै अधिकार प्राप्त गर्न नसकेको गुनासो गर्छन् । महासंघका नेताहरुले राजनीति बाहेक केहि गर्न नसकेको उनीहरुको भनाई छ । आफ्ना अधिकार प्राप्तीमा महासंघले खास काम गर्न नसकेपछि उनीहरुले लेबीपनि बुझाउन छाडेका छन् ।

राज्यसँग उनीहरुको ठुलो मागपनि छैन । राज्यको काम गर्ने हरेक नागरिकले कामबाट विदा लिँदा केहि न केहि प्रोत्साहन रकम पाउने गरेको र आफुहरुलाईपनि राज्यले रित्तो हात नफर्काए हुने उनीहरुको माग छ ।

उर्वर समय राज्यको काममा लगाएर शरिर बुढो भएपनि रित्तो हात फर्काउन नहुने बताउँछन् अर्जुनधारा नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिकुमार राना । राज्यका लागि काम गरेका मानिसहरु अशक्त भएर काम गर्न नसक्ने अवस्थामा केहि न केहि राहत राज्यले प्रदान गर्नुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति: २०२४-०६-१७ , समय : १९:०८:४३ , १ महिना अगाडि