बिर्तामोडमा अनियन्त्रित कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना गम्भीर घाइते

झापा एक्सप्रेस , १९४३९  पटक हेरिएको

बिर्तामोड । झापाको बिर्तामोडमा अनियन्त्रित कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् ।

साँझ ७ ३० बजेतिर बिर्तामोड ६ स्थित सिटी सेन्टरअगाडि राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १९ च ३००९ नं को कारले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको प्रदेश १–०१–१४प ६०८२ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक पाँचथर फाल्गुनन्द ५ बस्ने ३६ वर्षीय महेन्द्र कुरुम्वाङ र पछाडि सवार याङवरक ३ बस्ने १९ वर्षीय नारायण सेरिङ गम्भीर घाइते भएका हुन् । उनीहरूको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिइसकेपछि अनियन्त्रित सो कारले पार्किङ गरिराखेको मे १ ह ६०७५ र मे १ ह १८९३ नम्बरको दुई वटा अटोलाई समेत ठक्कर दिएको थियो । अटोमा पनि क्षति पुगेको छ । दुर्घटनापछि कार र कार चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-२० , समय : २०:४०:२५ , १ वर्ष अगाडि