कनकाई महिला फुटबलको उपाधी आयोजकलाई

झापा एक्सप्रेस , १७९६८  पटक हेरिएको

कनकाई- झापाको कनकाईमा संचालन भएको महिला फुटबल प्रतियोगिताको उपाधी आयोजक कनकाई महिला फुटबल क्लबले हात पारेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कनकाई माविको खेल मैदानमा बुधबार सम्पन्न प्रतियोगिताको उपाधीकालागि आयोजक कनकाई महिला फुटबल क्लव र जुनतारा महिला फुटबल क्लव खुदुनाबारी विच भएको प्रतिस्पर्धामा आयोजकले ३—० गोलको अन्तरले पछि पार्दै उपाधी हात पारेको हो ।

आयोजक कनकाई महिला फुटबल टिमले प्रथम स्थान हासिल गर्दै नगद ७५ हजार रुपैँया प्राप्त गर्यो भने उपबिजयी हुने जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले नगद ५० हजारमा चित्त बुझाएको छ । आयोजकका तर्फबाट अनिता लम्जेलले २ गोल र सहारा दहालले थप १ गोल गरेकी हुन् । प्रतियोगिताको प्लेयर अफ द म्याच आयोजक टिमकी अनिता लम्जेल घोषित भइन् । उनले कनकाई —३ निवासी उद्यमी,व्यवसायी बिरेन्द्रप्रकाश मैनालीबाट स्पोन्सर भएको नगद २ हजार प्राप्त गरिन् । त्यस्तै आयोजक टिमबाटै प्रतियोगितामा सर्वाधिक गोलकर्ता लक्ष्मी श्रेष्ठ, प्लेयर अफ द टुर्नामेन्ट खुस्मा राई ,उत्कृष्ट गोलकिप्पर रन्जु राजवंशी सहितले नगद ३ हजार प्राप्त गरे ।

विजयी तथा उपविजयी हुने दुबै टिमलाई कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलिया, संविधानसभाकी उपसभामुख इन्दिरा रानामगर, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रसान्त भण्डारी, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिना लगायतले नगद तथा शिल्ड प्रदान गरे ।

प्रतिष्ठानका अध्यक्ष थपलियाको सभापतित्व रहेको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले महिलाहरु समेत खेल क्षेत्रबाट देशकालागि नाम र दाम दुबै कमाउन सक्ने अवस्थामा पुगेको भन्दै खुशी व्यक्त गरिन् । आफुले हुर्काएका अनाथ वालवालिकाले समेत अहिले पनि राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेको भन्दै उचित वातावरण पाएको खण्डमा महिला खेलाडीले जुनसुकै अवस्थामा पनि देशको प्रतिनिधित्व गर्न सक्षम भइसकेको उपसभामुख मगरले बताइन् । कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहेकी उपसभामुख मगरले विश्वमा देखिएको जलवायु परिवर्तनको असर नेपालमा समेत तीव्र गतिमा वढिरहेको भन्दै यसलाई रोक्न सबै क्षेत्रबाट सचेत हुनु पर्नेमा जोड दिइन् ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगर खेलकुद विकास समिति सह—आयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको थियो । प्रतियोगितामा झापाका ८ वटा महिला टिमको सहभागिता रहेको प्रतिष्ठानका उपाध्यक्ष हरीकुमार कार्कीले जानकारी दिए ।

सह—आयोजक कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले स्वागत मन्तव्य राखेको औपचारिक कार्यक्रममा संविधान सभा सदस्य अम्बिका राजवंशी, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी(प्रशान्त), प्रवक्ता जगन कार्की (दुर्वासा), कराते प्रशिक्षक दुर्गाराज निरौला, कनकाई नगरपालिका वडा नं.१देखी वडा नं.९ सम्मका वडाअध्यक्ष साथै अन्य जनप्रतिनिधिहरु, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भुप्रसाद ढकाल, प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती, पुर्व अध्यक्षहरु दुर्गा प्रसाईँ, दिननाथ खतिवडा, फुटबल प्रशिक्षक सन्त रायमाझी लगायत विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रमको संचालन आयोजक समिति कनकाई खेलकुद प्रतिष्ठानकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।

प्रकाशित मिति: २०२३-०३-०९ , समय : ०७:४०:५० , १ वर्ष अगाडि