मोरङमा टिपरको ठक्करबाट नाबालिकाको मृत्यु, सडकमै शव राखेर प्रदर्शन

झापा एक्सप्रेस , ११८६७  पटक हेरिएको

मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट मंगलबार दिउँसो डेढ वर्षीया नाबालिकाको मृत्यु भएको छ।

भित्री सडकखण्ड भएर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ६८२५ नम्बरको टिपरले सडकमा खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार टिपरले दिउँसो ४ बजेतिर ठक्कर दिँदा सुन्दरहरैँचा–१२ का अजित चौधरीकी १८ महिने छोरी अननिया चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको केराबारी गाउँपालिका–१० का अन्दाजी ३५ वर्षीय राजकुमार लिम्बूलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानबाट चालकको लापरबाहीले दुर्घटना भएको खुलेको छ।

स्थानीय बासिन्दाका अनुसार तीव्र गतिमा रहेको टिपरले सडकमा खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको हो। चालकको लापरबाहीले दुर्घटना भएको बताउँदै स्थानीय, आफन्त र अभिभावकको मृतक बालिकाको शव उठाउन मानिरहेका छैनन्। सडकको बीचमा शव राखिएको छ। शव सडकमै छाडेर उनीहरूले टिपर आतंक बन्द, चालकलाई घटनास्थलमा ल्याउनुपर्ने, कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिरहेको ढकालले बताए।

प्रकाशित मिति: २०२३-०१-२४ , समय : १९:४७:३६ , २ वर्ष अगाडि

error: Content is protected !!