झापा गोल्डकप-ओली र सिटौला प्रमुख अतिथि

झापा एक्सप्रेस , १७५२५  पटक हेरिएको

शरणामती। मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिता झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । आज (बिहिबार) आयोजक संस्था झापा गोल्डकप समितिले बिर्ताबजार स्थित डोमालाल रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मर्फत सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

यही फागुन २१ गते देखि ३० गते सम्म आयोजना हुने गोल्डकप प्रतियोतालाई विगतको भन्दा केही परिष्कृत बनाउन आयोजक टिम लागि परिरहेको छ, राष्ट्रिय स्तरको खेल मैदान, एकै दिन १० हजार दर्शक अटाउन सक्ने अस्थाई प्यारापिट निर्माणलगायतका कामहरु सम्पन्न भएको अध्यक्ष बस्नेतले बताए ।

विगत दुई महिना अघि देखि मैदान व्यवस्थापनको काम सुरु गरिएको थियो । झापा गोल्डकपलाई झापा जिल्लावासीहरुको साझा बनाउन जिल्लाका सबै ठाउँहरुमा स्वागत गेट निर्माण गरिएको छ । बिर्तामोड आसपासमा मात्रै एक दर्जन गेट निर्माण गरिएको बताइएको छ ।

पाँचौं संस्करण झापा गोल्डकपमा घरेलु टोली झापा–११ ‘ए’ डिभिजन क्लवहरु नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र आरपी एफसी सिक्कमसहित १० वटा टिकको सहभागी रहने विज्ञप्तीका उल्लेख छ ।

यस बर्ष ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ भन्ने नारालाई अघि सारेर आयोजना गर्न लागिएको झापा गोल्डकपको विजेता टिमले १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैंया पाउने छन् । त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिने भएको छ । प्रतियोगिातमा उदयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेनडर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैंया पुरस्कार आयोजकले दिने भएको छ । त्यस्तै उच्च गोलकर्तालाई नगद २५ हजार दिईने आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले बताए ।

पाँचौं संस्करण खेलको उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली र समापन कार्यक्रममा पूर्व गृहमन्त्री नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यता रहने निधो भएको आयोजकले जनाएको छ ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आथित्यता रहेको थियो । मन्तव्यको क्रममा प्रमुख अतिथि ढकालले भने ‘झापावासीकै प्रतिष्ठिासँग जोडिएको प्रतियोगितालाई सानदार ढंगले सफल बनाउन झापाली उद्योगी, व्यवसायी र खेलप्रेमी महानुभाव, पत्रकार, मिडिया हाउसहरुको साथ र सहयोग अपरिहार्य रहने छ’ ।

पक्रकार भेटघाट कार्यक्रममै झापा–११ फुटवल क्लवको जर्सी सार्वजनिक गरिएको छ । उक्त सर्जी निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी र संरक्षक जलकुमार गुरुङले सार्वजनिक गरेका थिए ।गोल्डकप सम्पन्न गर्न विभिन्न संघ संस्थाले सहयोग गरेका छन् । आज पनि हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको तर्फबाट ५१ हजारको चेक हस्तान्तरण गरिएको छ । उक्त चेक संस्थाका अध्यक्ष भानु दंगाललगायतको सहकारी टिमले गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई हस्तान्तरण गरेका छन् ।

पत्रकार भेटघाट कार्यक्रमको संचालन झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलले गरेका थिए भने स्वागत वरिष्ठ उपाध्याक्ष बलराम कार्कीले गरेका थिए ।फोटो-बिनोद पाण्डे 

प्रकाशित मिति: २०२२-०३-०३ , समय : २०:४३:०७ , ३ वर्ष अगाडि