अनाधिकृत व्यक्तिले बोलाएको भेलामा नजान कांग्रेस झापाको आह्वान

झापा एक्सप्रेस , १६१३४  पटक हेरिएको

बिर्तामोड। नेपाली कांग्रेस झापाले समानान्तर समिति गठन गर्दै पार्टीहित विपरित कार्य गर्ने अनाधिकृत समिति एवं व्यक्तिले बोलाएको भेला तथा सभामा सहभागी नहुन नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा शुभचिन्तकलाई अनुरोध गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेद्वार र केन्द्रीय निर्देशन अनुसार गठबन्धन दलको भागमा परेका स्थानमा बागी उम्मेद्वारी दिएका उम्मेद्वार, प्रस्तावक र समर्थकको साधारण सदस्यता समेत स्वत ः खारेज हुने व्यवस्था सबैमा स्मरण गराउनु भएको हो ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा–४ को उपधारा १३ (ग) र कांग्रेस केन्द्रीय समितिको बैशाख १६ र १९ को परिपत्र अनुसार बागी उम्मेद्वार र प्रस्तावक र समर्थकको साधारण सदस्यता खारेज हुने व्यवस्था रहेको विज्ञप्तिमार्फत अवगत गराइएको छ ।

‘पार्टी अनुशासन, विधान र नीति निर्देशन विपरित गतिविधि गर्ने कारवाहीको सिफारिसमा परिसकेका त्यस्ता केही व्यक्तिहरुले १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौति दिंदै विर्तामोड वडा नं. ९ मा समानान्तर समिति गठन गरि गतिविधि गर्ने दुस्साहस गरेको पाइएको हुँदा पार्टी हित विपरित कार्य गर्ने त्यस्ता अनाधिकृत समिति र व्यक्तिले बोलाएको भेला, सभाहरुमा सहभागी नहुन नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य र शुभचिन्तकमा हार्दिक अनुरोध गर्दछौं’ –विज्ञप्तिमा भनिएको छ ।

पार्टीको केन्द्रीय निर्देशन अनुसार गत बैशाख २४ गते नै बागी उम्मेद्वार प्रस्तावक र समर्थकको सदस्यता खारेजीका लागि प्रमाणसहित केन्द्रीय कार्यालयमा सिफारिस गरिसकेको उल्लेख गर्दै विज्ञप्तिमा पार्टी अनुशासनमा रही संगठन निर्माणमा जुट्न कार्यकर्तालाई आह््वान गरिएको छ । कारवाहीको सिफारिसमा परिसकेका व्यक्तिको भुल भुलैया र उक्साहटमा नलाग्न पनि आम कार्यकर्तालाई विज्ञप्तिमार्फत अपिल गरिएको छ ।

प्रकाशित मिति: २०२२-०६-१८ , समय : १९:५३:५० , ३ वर्ष अगाडि

error: Content is protected !!