झापा गाउँपालिकामा काँग्रेसको वर्चस्व, अध्यक्षमा साह र उपाध्यक्षमा थपलिया निर्वाचित

झापा एक्सप्रेस , १३३१९  पटक हेरिएको

शरणामती।नेपाली काँग्रेसले झापा गाउँपालिकामा आफ्नो वर्चस्व कायम राखेको छ। जिल्लाका अन्य पालिकाहरूमा गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको काँग्रेसले झापा गाउँपालिकामा आफ्नै उम्मेदवार उठाएको थियो। काँग्रेसले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ५ वटा वडामा अध्यक्ष जितेको छ।

गाउँपालिकाको अध्यक्षमा काँग्रेसका जयनारायण साह पुनः निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गौरीशङ्कर राजवंशीलाई २ हजार ६३३ मतान्तरले पराजित गरेका हुन्। साहले ६ हजार ९९८ मत ल्याउँदा राजवंशीले ४ हजार ३६५ मत ल्याएका छन्।

अध्यक्ष पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रुद्र बजगाईँले ३ हजार ७५५, राप्रपाका चन्द्रबहादुर कार्कीले ३०२, जसपाका मोहितलाल कामतीले ६२, जनमत पार्टीका लोथ्रो हेमरमले ५८, स्वतन्त्र लक्ष्मीप्रसाद गणेशले ४८ र मंगोल नेशनल अर्गनाइजेशनका दुर्गादेवी तामाङले १८ मत ल्याएका छन्।

गाउँपालिका उपाध्यक्षमा काँग्रेसकी अन्जुदेवी थपलिया निर्वाचित भएकी छिन्। उनले एमालेकी देवीमाया अधिकारीलाई १ हजार ४९७ मतान्तरले पराजित गरेकी छिन्। थपलियाले ५ हजार ८६८ मत ल्याउँदा अधिकारीले ४ हजार ३७१ मत ल्याएकी छिन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष एमालेले जितेको थियो।

उपाध्यक्षमा माओवादीका उम्मेदवार मुन्नावती गणेशले २ हजार ८०४, राप्रपाकी तारामाया राईले ७५४, नेकपा एकीकृत समाजवादीका ईश्वरप्रसाद दाहालले ७१ मत ल्याएका छन्।

काँग्रेसले वडा नम्बर १, २, ४, ६ र ७ मा वडा अध्यक्ष जितेको छ। वडा १ मा राजकुमार यादव, २ मा हिमाल कुमार चम्लागाई, ४ मा महमद ताहिर, ६ मा नविनकिशोर थापा र ७ मा सखिचन्द्र ठाकुर वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा ३ मा भुइँकटहर चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार सुभाषलाल गणेश र ५ मा भुइँकटहरकै स्वतन्त्र कृष्णप्रसाद राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन्।

प्रकाशित मिति: २०२२-०५-१९ , समय : १९:४८:०९ , ३ वर्ष अगाडि

error: Content is protected !!