नेताहरू खेतमा उत्रिए, बेपत्ता योद्धा चतुरमान सिंहको धान काट्न जुटे

Jhapa Express , ३७३७४  पटक हेरिएको

झापा । राजनीति र भाषणमा मात्रै सीमित नभई दुःखमा परेका नागरिकको खेतबारीमै पुगेर श्रमदान गर्ने उदाहरण झापाको हल्दिबारीमा देखिएको छ। पाकेर पहेँलपुर भएको धान भित्र्याउन समस्या भएपछि नेपाली कम्युनिष्ट पार्टीका नेताहरू खेतमै पुगेर धान काट्न जुटेका छन्।

हल्दिबारी गाउँ समितिको आयोजनामा तत्कालीन माओवादीका नेता तथा बेपत्ता योद्धा चतुरमानसिंह राजवंशीको १८ कठ्ठा जमिनमा लगाइएको धान श्रमदानमार्फत काटिएको हो।

राजवंशीकी आमाको निधन भएपछि पाकेर पहेलपुर् भएको धानबाली भित्र्याउन समस्या भएको थियो। यही परिस्थितिलाई मध्यनजर गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूले खेतमै पुगेर सामूहिक रूपमा धान काट्ने र बाली भित्र्याउने काममा सहयोग गरेका हुन्।

धान काट्न खेतमा उत्रिएका नेताहरूले श्रमदानमार्फत मानवीय सहयोगको सन्देशसमेत दिएका छन्। राजनीतिक गतिविधिभन्दा माथि उठेर दुःख र अप्ठ्यारोमा परेका परिवारलाई साथ दिनु नै सामाजिक उत्तरदायित्व भएको उनीहरूको भनाइ छ।

सामान्यतया राजनीतिक दलका नेता मञ्च र कार्यक्रममा देखिने गर्छन्। तर हल्दिबारीमा भने उनीहरू हातमा हँसिया बोकेर किसानको खेतमा उत्रिएको दृश्यले राजनीति र सामाजिक सेवाबीचको सम्बन्धलाई पनि उजागर गरेको छ।

प्रकाशित मिति: २०२६-११-१८ , समय : १७:५९:३३ , २ दिन अगाडि

error: Content is protected !!