झापा एक्सप्रेस , ३०० पटक हेरिएको
लेखक : होमप्रसाद रसाइली (क्षितिजपारि झापाली)
स्थान : झापा गाउँपालिका–६, झापा।
यो उहिलेको कुरा हो।
बालखै बेला गाउँमा मानिसहरू राँगा र गोरुले एकाबिहानै खेत जोत्थे। खेसरी दाल मामको प्रतीक्षामा राँगा धपाउँदै बेला–बेला पुलुक्क हेर्थेँ।
गाउँमा एउटै मात्र टेलिफोन थियो, त्यो पनि गाविसमा। कुबेर अंकललाई भ्याइनभ्याइ हुन्थ्यो। आफ्ना मान्छेसँग कुरा गर्न फोन कहिले आउँछ भनेर मानिसहरू लाइनमा बस्थे। कागजमा सन्देश पठाउँदा घरकाले पैसा पनि दिन्थे—एक, दुई रुपैयाँ। टाढा भए अझ धेरै पनि।
कोही त फोन आउँदा फोनको बेल टेबलमा राखी दुई हात जोडेर नमस्कार गर्थे। पालो कुरेर बसेकाहरू खित्का छोडी हाँस्थे।
स्वास्थ्य चौकीमा एक जना पुन्टे डाक्टर थिए। बच्चाहरू सुई घोप्ने डरले तर्सन्थे, कोही त भाग्थे पनि।
मानिसहरू चिया पसल, चौतारो, बजार र छिमेकीका घरमा दुःख–सुखका कुरा गर्दै गफिन्थे। कोही चौतारोमा भेटिन्थे त कोही कोदोबारीमा।
काँचियाले धान काटेर बिटा लगाइन्थ्यो। राँगागाडीमा बाँस च्यापेर डोरीले कसिन्थ्यो। अगाडि बसेर लौरोले राँगालाई धपाउँदै धान घरसम्म ल्याइन्थ्यो। खमार तासेर कुन्यु लगाइन्थ्यो। सबैभन्दा चुचुरोमा सयपत्री फूलको थुँगा राखेर मेरा बुढा बा बाली भित्र्याउनुहुन्थ्यो।
केही समयपछि धानको जाकलाई खमारमा राखेर फर्काई–फर्काई चुटिन्थ्यो। गफमा रमाउँदै त्यसबेला सबै मानिस तन्दुरुस्त, राता–पिरा र कलकलाउँदा देखिन्थे।
उहिले खमारमा परालको खोप्री बनाइन्थ्यो। राति त्यहीँ खेतालाहरू सुत्थे। म पनि त्यहाँ सुत्न पाउनुपर्छ भनेर जिद्दी गर्थें, रुन्थेँ। खोप्रीमा निदाउँदा आत्मीयताको छुट्टै अनुभूति हुन्थ्यो। कुकुरहरू पनि बच्चा सार्दै परालको न्यानोपनमा लुक्थे।
धान नाङ्लोले बताएर सुनजस्तै बनाइन्थ्यो। त्यसपछि पराल दाइँ गर्दा राँगाको ढाडमा बसेर वरिपरि घुमिरहनुपर्थ्यो। घुम्दाघुम्दै तिघ्रै कालो हुन्थ्यो।
त्यतिबेला देशमा माओवादी द्वन्द्व चलिरहेको थियो र राजाको शासन थियो। गाउँलेहरू अलिअलि डराएका पनि देखिन्थे। राँगा चोर आउँछन् भन्दै गाउँका ठिटाहरू गस्ती गर्थे।
शीत झर्ने चिसो रातमा, ‘आज मान्छे मर्यो रे’, ‘युद्ध भयो रे’, ‘फलानोको घरबाट माओवादीले केटो लगे रे’ भन्दै सुर्ती माड्दै गाउँलेहरू कुरा सुनाउँथे।
म बालक छँदा सोच्थेँ—भाइ–भाइ मार्ने यो परम्परा देशमा कहिले मेटिएला? जनयुद्ध भनेको के रहेछ भन्ने कुरा त्यही बेला थाहा पाएको हुँ।
पल्लो घरमा मही पार्दा ओल्लो घरमा दसैँ हुन्थ्यो। बाँडीचुँडी खान्थेँ। कहिले भुटेको मकै त कहिले अरू परिकार। सबै कुरा मेहनतले रङ्ग्याउने समय थियो त्यो।
खेतहरू बाँझो कहिल्यै देखिनँ। गोबर मललाई बहिल गाडीमा बोकेर खेतमा लैजान्थे र गरालाई उर्वर बनाउँथे। घुमको समय थियो। आकाशबाट मुसलधारे पानी पर्दा धानको बीउ उखेलिन्थ्यो र रोपारहरूसँगै नारीँदै रोपिन्थ्यो।
गाउँको त्यो पुरानो पैनीमा कोलाको दाम्चोमा नुहाएका यादहरू आज पनि मानसपटलमा ताजै छन्। तर आज पैनीको अवस्था देख्दा रुन मन लाग्छ। त्यो त मर्दै रहेछ।
अन्जुदेवी थपलिया आमा र नवीन के. थापाज्यू, म फेरि भेलजस्तै बगेको हेर्न चाहन्छु।
खेतहरू हरियाली हुन्थे। पाटाबारीमा भ्यागुताहरू मरुन्जेल कराउँथे। वसन्त अंकलको खाडीमा पाटाहरूमा आल काडिन्थ्यो र सुन्टीहरू सेता भई चम्किन्थे। कसैलाई भ्यातलुङ्गले टोक्यो भन्दै चुना र नुन खोज्थे। अनि जोरजोरले हाँस्थे।
स्वर्गकी परी पदमेनी हजुरआमाको खालमा पानी छ्यापी माछा मार्नेहरूको घुइँचो थामिनसक्नु हुन्थ्यो। माछा प्रशस्तै पाइन्थे। खेतका गरा र आँङ्ला पैनीमा माछा आम थिए।
पानीभित्र उर्रु खेल्न राते होली र ४ नम्बरतिर गइन्थ्यो। बेला–कुबेला लोथा र बल्छी पनि थाप्थेँ, कालो कट्टु लगाएर।
दसैँ र तिहारको छुट्टै महत्त्व हुन्थ्यो। नेपालीहरू दिल खोलेर रमाउँथे। कतै मादल त कतै रोदी, नाचगान। रातभरि हल्लाखल्ला र देउसी–भैलो चल्थ्यो। सबैका घरमा परिवार हुन्थे। परदेश जाने परम्परा त्यति थिएन।
स्कुलको चौरमा पिङको लट्ठा समातेर बच्चाहरू ‘च…च…हुई, च…च…हुई’ गर्थे। म भने आमाले पोलेको मासु चपाउँथेँ। अनि कञ्चनजङ्घा एफ.एम. सुन्दै उफ्रिन्थेँ।
गाउँमा मङ्गलबार र शनिबार लाग्ने हटियामा मानिसहरूको भीड देख्दा कसम, चारछक्क पर्थेँ। कसैले ढुङ्ग्री किनिदिन्छ कि भन्ने आशामा बस्थेँ।
सबैका घरआँगन फूलहरूले ढकमक्क हुन्थे। कोही सेतो कमेरो माटोले परालको चुहिने घर लिप्थे त कोही साइकलमा घोडामारा चिउरा कुटाउन जान्थे।
तिहारमा मामलकी हजुरआमालाई रक्सी बनाउन भ्याइनभ्याइ हुन्थ्यो। रोटी बनाउनु कि फूलको माला गाँस्नु कि अरू काम गर्नु! उहाँलाई हम्मेहम्मे पर्थ्यो। बेला–बेला हामीलाई जोरले हकार्नु पनि हुन्थ्यो।
अनि हामी भकुण्डो खेल्थ्यौँ, मच्चाको चौरमा। कहिले चुङ्गी, घरपकाई, लुकीडुम, गुच्चा, डन्डीबियो खेल्थ्यौँ। अरू खेलहरू अहिले बिर्सिएँ।
जनता स्कुलमा पढ्दा हिरोइनका पोस्टकार्ड बाँड्थ्यौँ। हितैषी साथीहरूको डायरी पनि भर्थ्यौँ।
अमरपथ ढुङ्गामाटोको ग्याभेल सडक थियो। कहिले बस भासिन्थ्यो त कहिले हिँडेरै माइमेनी मेला धाइन्थ्यो।
सुरुङ्गाबाट आउने घण्टावाला बसमा मानिसहरू भीडले निसासिँदै यात्रा गर्थे। म प्रायः हुटमा बस्न मन पराउँथेँ, झापाली टाइगरमा।
‘तार आयो है!’ भन्दै सबै निहुरिन्थे। मानिसहरू मरिमरी हाँस्थे पनि। त्यतिबेला बस भाडा १५ रुपैयाँ थियो।
गाविसपारि बर–पीपलको चौतारो थियो, स्वर्गीय बार्हबेते बुबाको घरछेउमा। हामी बसबाट उत्रिन्थ्यौँ र क्यारम, ढाइस खेल्न जान्थ्यौँ।
आज मेरो मानसपटलमा अतित भएर बितेका जीवनरूपी पुराना दिनहरूको याद फेरि ताजा भएर आएको छ। म फेरि त्यही दिनमा फर्किएँ।
लेख्दै जाँदा भावनामा बगेर केही कुरा बिर्सिएको पनि हुन सक्छु। अब शब्दहरूलाई यहीँ बिट मार्छु है।
यहाँ पाहुना बनेर धेरै आए, अनि सम्झना छाडेर विलीन भए।
दश तोपको सलामी छ, गाउँ तिमीलाई!
म फेरि बच्चा भएर यही माटोमा जन्मन चाहन्छु, आमा। आँगनको दुर्गा मन्दिरलाई साक्षी राखी।
प्रकाशित मिति: २०२६-११-१६ , समय : १८:४२:०० , २४ मिनेटutes अगाडि