सुरुङ्गा–लसुना रोड रन सम्पन्न, पुरुषतर्फ तिर्थ पुन र महिलातर्फ सम्पा गैन प्रथम

झापा एक्सप्रेस , १४७५  पटक हेरिएको

झापा । लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा स्वस्थ समाज निर्माणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको २४ किलोमिटर लामो ‘सुरुङ्गा–लसुना रोड रन प्रतियोगिता’ आज सम्पन्न भएको छ।

नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ बागलुङको ढोरपाटन नगरपालिका–६ का तिर्थ पुनले प्रथम स्थान हासिल गरेका छन्। त्यस्तै, मोरङको लेटाङका बिक्रम लिम्बू दोस्रो र भारतको माल्दाका पञ्चानन बेरा तेस्रो भएका छन्।

महिलातर्फ भारतको माल्दाकी सम्पा गैनले प्रथम स्थान हासिल गर्दा जुम्लाको गुठिचौर–३ की राज्यलक्ष्मी रावल दोस्रो र काठमाडौंको त्रिपुरेश्वरकी सम्झना लिम्बू तेस्रो भएकी छन्।

‘लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा स्वस्थ समाज निर्माणका लागि’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता कनकाई नगरपालिकासहित आसपासका क्षेत्रमा बढ्दो लागुऔषध प्रयोग तथा ओसारपसारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको हो।

सुरुङ्गा चोकबाट सुरु भएको दौड नेपाल–भारत सीमा क्षेत्र लसुना नाकासम्म पुगेको थियो। प्रतियोगितामा नेपाल र भारतका धावकहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताको महिला तथा पुरुष दुवै विधामा प्रथम हुनेले १ लाख १ हजार, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने व्यवस्था गरिएको थियो।

खेलकुदलाई सामाजिक चेतनासँग जोड्दै लागुऔषधविरुद्धको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले सीमावर्ती क्षेत्रमा स्वस्थ जीवनशैली र सामाजिक जागरणको सन्देश दिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०२६-११-०५ , समय : १८:१८:३४ , १ घन्टा अगाडि

error: Content is protected !!