Jhapa Express , ३२८११ पटक हेरिएको
*झापा।* सुरुङ्गा हनुमान चोक, मदरगाछ, कुवाडी हुँदै झापा बजार जोड्ने *लक्ष्मी मार्ग* अहिले स्थानीयका लागि सडकभन्दा बढी सास्तीको पर्याय बनेको छ। वर्षौंदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको यो सडक हरेक चुनावमा नेताहरूको भाषणमा त प्राथमिकतामा पर्छ, तर व्यवहारमा भने उपेक्षाकै शिकार हुँदै आएको छ।
वर्षायाम सुरु भएसँगै लक्ष्मी मार्ग हिलाम्मे बन्छ। सडकभरि पानी जम्ने, गाडी फस्ने र पैदल यात्रु हिलोमा लड्दै हिँड्नुपर्ने अवस्था सामान्यजस्तै बनेको छ। बिरामी बोकेको एम्बुलेन्सदेखि विद्यालय जाने विद्यार्थीसम्म यही सडकको सास्ती भोग्न बाध्य छन्। हिउँद लागेपछि सडक धुलाम्मे बन्छ, जसले स्थानीय बासिन्दा, व्यापारी र यात्रु सबैलाई दैनिक सास्ती दिन्छ।
यो सडक झापा गाउँपालिका र कनकाई नगरपालिकाका बासिन्दाको आवागमन मार्ग हो। कृषि उत्पादन बजारसम्म पुर्याउने, विद्यार्थी विद्यालय पुग्ने, बिरामी अस्पताल लैजाने तथा दैनिक हजारौं नागरिकको आवतजावत हुने यो सडक अहिले पनि कच्ची र जीर्ण अवस्थामै छ।
लक्ष्मी मार्गको अवस्था सुधार गर्न माग गर्दै स्थानीयले यस वर्ष हिलाम्मे सडकमै धान रोपेर अनौठो विरोधसमेत जनाए। सडक कि खेत भन्ने अवस्था सिर्जना भएपछि गरिएको उक्त विरोधले सरकारको ध्यान तान्ने अपेक्षा गरिएको थियो। सामाजिक सञ्जालदेखि राष्ट्रिय सञ्चारमाध्यमसम्म यो खबर चर्चामा रह्यो। तर विरोधपछि पनि सडक निर्माणले गति लिन सकेको छैन।
स्थानीयका अनुसार यो सडक राजनीतिक दलका नेताहरूका लागि चुनावी एजेन्डा बन्ने गरेको छ। निर्वाचनअघि सडक कालोपत्रे गर्ने प्रतिबद्धता दोहोरिने गर्छ, तर चुनाव सकिएपछि ती वाचा पनि हराउने गरेका छन्। वर्षौंदेखि जनताले एउटै प्रश्न दोहोर्याइरहेका छन्—*”लक्ष्मी मार्ग आखिर कहिले बन्छ?”*
यदि यो सडक स्तरोन्नति हुन सके सुरुङ्गादेखि झापा बजारसम्मको यात्रा सहज मात्र हुने छैन, कृषि, व्यापार, शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्रले समेत नयाँ गति लिनेछ। तर विकासको ढोका खोल्न सक्ने यही सडक अहिले सरकारी प्राथमिकताभन्दा बाहिर परेको जस्तो देखिन्छ।
हिलो र धुलोबीच दिन बिताइरहेका स्थानीय अब आश्वासन होइन, काम हेर्न चाहन्छन्। जनताको धैर्यको परीक्षा लिने काम अब धेरै दिन चल्न सक्दैन। हाम्रो प्रश्न पनी यही छ ,सरकारले उपेक्षा गरेको लक्ष्मी मार्गमा विकासको डोजर कहिले पुग्ला?
प्रकाशित मिति: २०२६-०८-०७ , समय : २०:१५:२८ , ५ दिन अगाडि