प्रतिदिन दैनिक १८ औं वर्षमा प्रवेश

झापा एक्सप्रेस , १५२९  पटक हेरिएको

नव संचार गृह प्रालिद्वारा बिर्तामोडबाट नियमित रुपमा प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आजदेखि १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ ।

पूर्वी नेपालमा प्रदेशस्तरकै पत्रिका प्रकाशन गरी आम पाठकहरुलाई सुसूचित गर्ने उद्धेश्यले स्थापित यस दैनिक आफ्‌नो उद्धेश्यमा सफल भएको छ । हामी हाम्रो उद्धेश्यप्रति अडिग छौं । प्रतिदिन दैनिकले झापा जिल्लाका विभिन्न क्षेत्रसंगै मोरङसम्म आफ्‌नो कार्यक्षेत्र विस्तार गरेको छ ।

अर्को महत्वपूर्ण कुरा कोरोना महामारी र आर्थिक मन्दीका कारण संचार क्षेत्र तहसनहस भएको छ । धेरै मिडिया बन्द भएका छन् । जिल्लाकै धेरै पत्रिका बन्द भइरहँदा यस प्रतिदिन दैनिकले असहज परिस्थितिका बावजुद आफ्‌नो प्रकाशनलाई निरन्तरता दिँदै आएको छ । प्रतिकुलतालाई अनुकूल बनाउँदै प्रतिदिन दैनिक पत्रिका , प्रतिदिनडेली डटकम अनलाइन र प्रतिदिन टीभी युट्युवमार्फत पाठकहरुलाई पलपलको समाचार र सूचना प्रवाह गर्दै आएको छ ।

अरुको समाचार कपी गरेर पत्रिका र अनलाइन चलाउने पत्रकारहरुको बढ्दो प्रवृतिलाई चिर्दै यस पत्रिकाले स्थानीय क्षेत्रमा खोजी गरी आफ्‌नै मौलिक समाचार पस्किने गरेकाले धेरैको मन जित्न सफल भएको हो । राजनीतिसंगै पत्रकारिता क्षेत्र पनि दूषित भइरहेको अबस्थामा वादको सिद्धान्तबाट टाढा रहेर नडगमगाई सही र सत्य समाचार पस्केकै कारण अहिले प्रतिदिन दैनिकको चर्चा बढेको छ ।

स्थानीय समाचारलाई मुख्य प्राथमिकता दिएकै कारण प्रतिदिन दैनिक र यसको अनलाइन लोकप्रिय रहेको सम्पादक इन्द्रसिंह राजवंशी बताउँछन् । स्थानीय विषयवस्तुलाई प्रतिदिन दैनिकले राष्ट्रिय महत्वको बनाउने गरेको उनले बताए ।

उनले विभिन्न उतारचढाव बेहोर्दै पत्रिकालाई यहाँसम्म ल्याइपुर्‍याउने आम पाठक, विज्ञापनदाता ,पत्रिकाका संचालक , व्यवस्थापन पक्ष , वितरक , शुभेच्छुक सबैलाई धन्यवाद दिदैँ आगामी दिनमा समेत निरन्तर र भरमग्दूर सहयोगको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति: २०२६-०१-३० , समय : ०९:०४:३१ , ४ घन्टा अगाडि

error: Content is protected !!