एमालेले टुङ्गो लगायो झापाका १४ वटा पालिकाका उम्मेदवार

झापा एक्सप्रेस , ९४७६  पटक हेरिएको

शरणामती-नेकपा एमालेले स्थानीय निर्वाचनका लागि झापाका १५ पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाएको छ ।

एमालेले भद्रपुर नगर प्रमुखमा असारु राजवंशी र उपप्रमुखमा कौशिला अधिकारीलाई उम्मेद्वार बनाउने भएको छ ।

प्रदेश १ का इञ्चार्ज देवराज घिमिरेका अनुसार दमक नगरपालिकाको प्रमुखमा हालकी उपमेयर गीता अधिकारीलाई मेयरको उम्मेद्वार बनाएको छ भने उपमेयरमा अम्बिका खनाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

यता, विर्तामोड नगरपालिकाको मेयरमा हालकी उपमेयर पवित्रा महतारा प्रसाईंलाई र उपमेयरमा बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई अघि सारेको छ । एमालेले गौरादह नगरपालिकाको मेयरमा छत्रपति सुबेदी र उपमेयरमा जलवर्षा राजवंशीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

प्रदेश इञ्चार्ज घिमिरेका अनुसार कनकाई नगरपालिका प्रमुख र उपप्रमुखमा अहिलेकै मेयर उपमेयरलाई दोहोर्याउने भएको छ । उनका अनुसार मेयरमा राजेन्द्र पोखरेल र उपमेयरमा मन्जु प्रसाईंलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । त्यस्तै, बाह्रदशी गाउँपालिकाको अध्यक्षमा एमालेले देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेललाई उम्मेद्वार बनाउने निर्णय गरको छ । नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा यस अघिका उपाध्यक्ष मिरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । शिवसत्ताक्षी नगरपालिकाको मेयरमा रोशन थोप्रा र उपमेयरमा नरमाया कार्कीलाई उम्मेद्वार बनाउने एमालेले निर्णय गरेको प्रदेश इन्चार्ज देवराज घिमिरेले जानकारी दिए ।

गौरीगञ्जमा अध्यक्षमा विजय अग्रवाल र उपाध्यक्षमा पुजन न्यौपाने कुँवर , अर्जुनधारामा मेयरमा बलदेव गोम्देन र उपमेयरमा खड्गमाया पराजुली , कमलमा अध्यक्ष भीम राई र उपाध्यक्षमा उषा भण्डारी सिटौला र झापा गाउँपालिकामा अध्यक्ष गौरीशंकर राजवंशी र उपाध्यक्षमा देवीमाया कोइराला , हल्दिबारीमा अध्यक्ष डम्बरबहादुर गिरी र उपाध्यक्षमा शान्ता गौतमलाई उम्मेद्वार बनाउने निर्णय पार्टीले गरेको छ ।

त्यस्तै मेचीनगरमा प्रमुख र उपप्रमुखमा कसलाई उम्मेदवार बनाउने भनेर छलफल चलिरहेको बताइएको छ। कचनकवलमा भने कांग्रेससंग गठबन्धन गर्ने गरी उपाध्यक्षमा नवराज भट्टराईलाई उठाउने निर्णय भएको छ ।

प्रकाशित मिति: २०२२-०४-२३ , समय : २२:४३:०८ , २ वर्ष अगाडि