विपन्नको घरमा नपुगेको ‘गाउँको सिंहदरबार’

चिरन घिमिरे , १२५४२  पटक हेरिएको

झापा –झापा गाउँपालिका–१ का महमद हबिल मियाँको घरमा फुसको छानो छ । टाटीले बनाएको फुसको घर देखेर पाँच वर्षअघि भोट माग्न आउँदा नेताहरूले घर बनाइदिने आश्वासन दिएका थिए । उनी सम्झन्छन्, ‘अब यस्तो घरमा बस्नुपर्दैन । हामी राम्रो बनाइदिन्छौँ भनेका थिए ।’ तर, चुनाव सकिएपछि उनको घरमा नेता फर्किएनन् । ‘घर बनाइदिन्छु भनेर गएका नेताजीहरू फर्किएरै आएनन् । मेरो घर अहिले पनि उस्तै छ,’ उनी भन्छन्, ‘बर्खामा पानी चुहिन्छ, फुसको छानोमुनिबाट प्लास्टिक लगाएर पानी छेकेको छु ।’

उनको घरवरिपरि पनि प्लास्टिक र बाँसको भाटाले बेरेको छ । हिउँदको शीतलहर र बर्खाको झरी रुझेरै कट्छ । उनको वरिपरि अलिक बोल्न सक्नेलाई स्थानीय सरकारले घर पनि बनाइदियो । केहीलाई जस्तापाता दियो । तर, हबिलको पाँच वर्ष आसैआसमा बित्यो । हबिलको घर नेपाल–भारत सीमाको दशगजानजिकै पर्छ । निर्वाचनताका गाउँअगाडि निस्कने बाटो बनाइदिने प्रतिबद्धता जनाएर गएका नेता चुनावपछि गाउँमा बसेका छैनन् । ‘बर्खामा यहाँ बाटो नै हुँदैन । पहिला चुनावको वेला बाटो बनाइदिन्छु भन्ने नेताजीहरू चुनाव सकिएपछि आउनुभएन,’ उनले  भने, ‘बर्खामा झापा बजार जाने बाटो निस्कन पनि भारततिरको बाटो भएर जानुपर्छ ।’

सपनाका पोका बोकेर फेरि गाउँ पसे नेता

स्थानीय तह निर्वाचन मिति घोषण भएपछि भने हबिलको गाउँमा नेता फेरि पुग्न थालेका छन् । पाँच वर्षअघिकै जसरी हबिलको फुसको घर हेर्छन् र जितेपछि टिनको दह्रो घर बनाइदिने आश्वासन दिन्छन् । ‘पाँच वर्ष केही गरेनन् । पहिलाको जसरी आएर छाना फेरिदिन्छु । घर बनाइदिन्छु, बाटो बनाइदिन्छु भन्छन्,’ उनी भन्छन्, ‘चुनाव सकिएपछि पाँच वर्ष गाउँमा नपस्ने नेताले के गर्लान् र !’

गाउँमा अधिकारसहितको सरकार आएको पाँच वर्ष भयो । तर, झापा– १ रसुनगन्जका उमेशकुमार यादवको जीवनमा केही परिवर्तन आएको छैन । घरअगाडि बाटो त बन्यो तर उनको अवस्था उस्तै छ । भत्कन लागेको घर फेरिएको छैन । टाटीले बारेको घरबाट पस्ने झरी र शीतलहरलाई उसै गरी झेलिरहेका छन्, उमेशकुमार । ०७४ को निर्वाचनअघि पनि बर्खामा एक महिनाजति उनको वास विद्यालयमा हुन्थ्यो । अहिले पनि उस्तै छ । ‘स्थानीय तह भईकन के परिवर्तन भयो र ? बर्खामा बाढीले गाउँ नै डुबाउँछ । अहिले पनि उस्तै छ । नेताजीहरूले नदीमा तटबन्ध पनि गरेनन्,’ उनी भन्छन्, ‘अब घर बनाइदिने, बाँध बाँधिदिने भन्दै धेरै फकाउन आउँछन् । फेरि पनि अस्तिको जस्तो जितेर गएपछि बिर्सने हुन् कि !’

झापा गाउँपालिका–१ सालमाराकी हासमुरा खातुनलाई ‘गाउँ–गाउँमा सिंहदरबार’ आएको अनुभूति हुन सकेको छैन । राजनीतिक दलहरूले पाँच वर्षअघि संघीयता कार्यान्वयनको खुड्किलास्वरूप भएको निर्वाचनमा स्थानीय तहलाई राजनीतिक दलले ‘गाउँ–गाउँमा सिंहदरबार’को विशेषण दिए । अर्थात्, सिंहदरबारको अधिकार गाउँसम्म आयो । गाउँ सरकारले नै सबै जनताका न्यूनतम आवश्यकता पूरा गर्छन् भनिएको थियो । तर, हसमुराको घरसम्म गाउँको सिंहदरबार आइपुगेको छैन ।

घरमा सिंहदरबार आएको भए उनी अहिले खुला आकासमुनि बस्नुपर्ने थिएन । जस्ताले छाएको पुरानो कमजोर घर थियो । चैत अन्तिममा आएको हावाहुरीले त्यो छानो पनि उडाइदियो । उनको मात्र हैन, बाक्लो मुस्लिम समुदायको बस्ती रहेको यो गाउँमा चैत अन्तिम साताको हावाहुरीले अधिकांश घरका छानो उडायो । ‘सरकारले घर बनाइदिन्छ भन्थे । चुनाव जितेपछि त केको बनाइदिने रहेछन् र ! गाउँमा एक–दुईवटा घरमा टिन दिए । हाम्रोतिर त न टिन दिए, न त घर नै बनाइदिए,’ उनी भन्छिन्, ‘पानी चुहिने छानो हावाले उडायो । बनाउनलाई पैसा छैन । श्रीमान्ले मजदुरी गरेको भरमा पाँचजनाको परिवार चलाउनुपर्छ । पैसा नभएपछि यस्तैमा बस्नुपर्‍यो नि !’

यो बस्तीमा बर्खामा सधैँ माई नदीको भंगालो पस्छ । हिउँदमा शीतलहर, बर्खामा बाढी र चैत–वैशाखमा हावाहुरीले उनीहरूको घर भत्काउने गरेको छ । ‘हिउँदमा शीत चुहिएर साह्रै गाह्रो हुन्छ । बर्खामा घरभरि पानी पस्छ । स्कुलको वास हुन्छ । चैत–वैशाखमा हावाले छानो नै उडाएर लैजान्छ,’ उनी भन्छिन् । मुस्लिम समुदायका अगुवा जालिम मियाका अनुसार यहाँ १५० भन्दा बढी मुस्लिम समुदायको घर छ । जसमा ७० भन्दा बढी घर कमजोर छन् । ती सबै राज्यले बनाइदिनुपर्ने उनको भनाइ छ । तर, हालसम्म १० वटा मात्र घर राज्यले बनाइदिएको उनले बताए ।

पाँच वर्षमा स्थानीय सरकारले गाउँमा कालोपत्रे बाटो पुर्‍यायो । तर, स्थानीय विपन्नको जीवनस्तर उकास्ने काम नगरेको उनीहरू बताउँछन् । विगतमा घर बनाइदिने, रोजगारी दिने, नदी तटबन्ध गर्ने वाचा गरेर ०७४ मा चुनावमा होमिएका दलहरू फेरि त्यही मुद्दा लिएर भोट माग्न गाउँ पस्न थालेका छन् । ‘वर्षैपिच्छे गाउँमा बाढी आउँछ । स्थानीयले दुःख पाइरहेका हुन्छन् । बस्ने गतिलो घरसमेत छैन । सरकारले भनेअनुसार जनताले केही पाएका छैनन्,’ झापा–१ का नरेशकुमार यादव भन्छन्, ‘बाँध नबनाउँदा गरिबले गरेको खेती बगाएर लैजान्छ ।नयाँपत्रिकाबाट

प्रकाशित मिति: २०२२-०४-२० , समय : १८:१५:२५ , २ वर्ष अगाडि