सीपबाट आत्मनिर्भरता: कन्काई नगरपालिकाको उद्यमशीलता अभियान

झापा एक्सप्रेस , १३२३  पटक हेरिएको

झापाको कन्काई नगरपालिका ले स्थानीय नागरिकलाई स्वरोजगार र उद्यमशीलताको बाटोमा अघि बढाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ। बेरोजगारी न्यूनीकरण गर्दै आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्यसहित नगरपालिकाले हेयर कटिङ, ढाका सिलाई–बुनाई, प्लम्बर, इलेक्ट्रिसियन, मालापोते बनाउने, फिनेल, साबुन, कुचो बनाउने, बारिस्ता लगायतका तालिम प्रदान गरिरहेको छ।

यी तालिमहरू विशेषगरी युवायुवती, महिला तथा रोजगारीको खोजीमा रहेका नागरिकका लागि लक्षित छन्। सहभागीहरूले व्यावसायिक सीप सिकेर आफ्नै व्यवसाय सुरु गर्ने अवसर प्राप्त गरिरहेका छन्। यसले केवल आयआर्जनको सम्भावना मात्र बढाएको छैन, स्थानीय स्तरमै आर्थिक गतिविधि विस्तार गर्न समेत टेवा पुर्‍याएको छ।

कनकाई नगरपालिकाका रोजगार शाखा प्रमुख सरोज मैनालीका अनुसार, “रोजगार र उद्यमशीलता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो। स्थानीय नागरिकलाई सीपयुक्त बनाउँदै आत्मनिर्भर बनाउनु हाम्रो प्राथमिकता हो।”
नगरपालिकाको पहलले बेरोजगार नागरिकलाई सीपमार्फत सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ। सीप सिकेर स्वरोजगार बन्ने अवसरले परिवारको आर्थिक अवस्था सुधार गर्नुका साथै सामाजिक सम्मान र आत्मविश्वास पनि बढाएको छ।
कनकाई नगरपालिकाको यो अभियानले “सीप, श्रम र आत्मनिर्भरता” को सन्देश फैलाउँदै स्थानीय तहमा उद्यमशील समाज निर्माण गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

यस्ता कार्यक्रमले भविष्यमा थप नागरिकलाई प्रेरित गर्दै आर्थिक विकासको नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०५-०३ , समय : १२:४५:३५ , ३ घन्टा अगाडि

error: Content is protected !!