तेस्रो अध्यक्ष कप फुटबलमा रंगीमाया, सानोमाई, लालीगुराँस र शरणामती सेमीफाइनलमा

झापा एक्सप्रेस , २६४४  पटक हेरिएको

झापा, कार्तिक १७।
झापा गाउँपालिका–५ पुरानो शरणामतीमा जारी “तेस्रो अध्यक्ष कप” नकआउट फुटबल प्रतियोगितामा सोमबारका खेलहरूमा रंगीमाया युवा परिवार, सानोमाई युवा क्लब, लालीगुराँस एफसी र शरणामती एफसी विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेका छन्।

नवदुर्गा युवा क्लबको आयोजनामा रामजानकी आधारभूत विद्यालयको खेलमैदानमा आज सोमबार भएको पहिलो खेलमा रंगीमाया युवा परिवारले सोडागान्डी एफसीलाई ३–१ को गोल अन्तरले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।

दोस्रो खेलमा सानोमाई युवा क्लबले मदरगाछ एफसीलाई ४–२ को गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

त्यसैगरी तेस्रो खेलमा आयोजक नवदुर्गा युवा क्लबलाई ३–१ ले पराजित गर्दै लालीगुराँस एफसीले शानदार जित दर्ता गर्‍यो।

यस दिनको अन्तिम खेलमा शरणामती एफसी र भामटोली एफसीबीचको रोमाञ्चक भिडन्त निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको थियो। खेल ट्राइबेकरमा गएपछि शरणामती एफसीले ३–२ को अन्तरले विजयी हुँदै सेमीफाइनलमा आफ्नो स्थान बनायो।

आयोजक समितिका अध्यक्ष सञ्जितलाल यादवका अनुसार भोलि मंगलबार समूह ‘ए’ अन्तरगत रंगीमाया युवा परिवार र सानोमाई युवा क्लबबीच पहिलो सेमीफाइनल तथा समूह ‘बी’ अन्तरगत लालीगुराँस एफसी र शरणामती एफसीबीच दोस्रो सेमीफाइनल खेल हुनेछन्।भोलीनै फाइनल खेल समेत हुने यादवले बताउनुभयो।

प्रतियोगिताको विजेता टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०२५-११-०३ , समय : १९:३३:०५ , ६ घन्टा अगाडि

error: Content is protected !!