झापा–५ मा तेस्रो अध्यक्ष कप फुटबल सुरु

झापा एक्सप्रेस , २३४४  पटक हेरिएको

झापा, कात्तिक १२ –
झापा गाउँपालिका–५ मा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता धमाकेदार रूपमा सुरु भएको छ। यहाँस्थित नवदुर्गा युवा क्लबको आयोजनामा सुरु गरिएको प्रतियोगिताको उद्घाटन झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु देवी थपलिया, वडाध्यक्ष कृष्णप्रसाद राजबंशी लगायतले गर्नुभयो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थपलियाले खेलकुदले युवामा अनुशासन, एकता र सशक्तीकरण ल्याउने भएकाले गाउँपालिकाले यस्ता क्रियाकलापमा सधैं सहयोग गर्दै आएको बताउनुभयो।

त्यसैगरी वडाध्यक्ष राजबंशीले स्थानीय खेलकुद विकासका लागि आफ्नो नेतृत्वले निरन्तर लगानी गर्दै आएको भन्दै प्रतियोगिताले स्थानीय युवामा उत्साह जगाएको टिप्पणी गर्नुभयो।

राम जानकी आधारभूत विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा सोडागाण्डी एफ.सी.ले जुनियर ब्वाइज फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

त्यस्तै दोस्रो खेलमा रंगीमाया युवा परिवारले जुनतारा युवा क्लबलाई ३–० को फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
तेस्रो खेलमा मदरगाछ एफ.सी.ले सुगाबथान एफ.सी. बहरदशीलाई ५–१ को विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको छ।

आयोजक समितिका अध्यक्ष संजितलाल यादवका अनुसार प्रतियोगिता कार्तिक १५ गतेसम्म सञ्चालन हुनेछ।
विजेता टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रकाशित मिति: २०२५-१०-२९ , समय : १९:००:३७ , ५ घन्टा अगाडि

error: Content is protected !!