झापा एक्सप्रेस , ९६६१ पटक हेरिएको

झापा — मिसियो जर्मनी र झापा गाउँपालिकाको आर्थिक सहयोगमा कारितास नेपालद्वारा आयोजित एक दिने कार्यशाला कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रम ‘सुरक्षित वैदेशिक रोजगार प्रवर्द्धन तथा मानव बेचबिखन रोकथाम’ परियोजनाअन्तर्गत झापा गाउँपालिकामा सञ्चालनमा रहेको हो। कार्यशालामा सुरक्षित वैदेशिक रोजगारी, स्थानीय स्तरमा रोजगारी सिर्जना तथा परियोजना क्रियाकलापहरूको दीगोपनाका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता कारितास नेपालका प्रदेश व्यवस्थापक शेकर कुमार पौड्यालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया उपस्थित थिइन्।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, गाउँपालिकाका कार्यपालिका सदस्यहरू, विद्यालयका प्रतिनिधिहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा झापा गाउँपालिका–२ का वडाध्यक्ष हिमाल चम्लागाईले स्वागत मन्तव्य राखेका थिए।
सहभागीहरूले वैदेशिक रोजगारीमा जाने प्रक्रिया, सम्भावित जोखिमहरू, मानव बेचबिखनको खतरा र त्यसबाट बच्न अपनाउनुपर्ने उपायबारे जानकारी लिएका थिए। साथै, समुदायमै रोजगारी सिर्जनाका सम्भावना र परियोजनाका दिगोपनाका उपायबारे समेत विचार-विमर्श गरिएको थियो।
प्रकाशित मिति: २०२५-०६-०१ , समय : १९:४०:५९ , २ दिन अगाडि