झापा एक्सप्रेस , ५७५०५ पटक हेरिएको
झापा गाउँपालिकामा विगत केही वर्षदेखि मकै खेतीमा व्यापक विस्तार हुँदै आएको छ। हाइब्रिड जातको मकै खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन वृद्धि भए पनि पर्याप्त मल, बीउको गुणस्तर,भण्डारण र बजारीकरणसम्बन्धी चुनौतीले किसानहरू समस्यामा परेका छन्।
गाउँपालिकाका सबै ७ वटै वडामा किसानहरूले व्यावसायिक रूपमा मकै खेती गरिरहेका छन्।झापा गाउँपालिकाको कृषि शाखाका अनुसार, झापा गाउँपालिकामा हरेक बर्स करिब ७ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ। हाइब्रिड जातको मकै, प्रति हेक्टर कम्तीमा १०० क्विन्टल उत्पादन भइरहेको छ।
झापा -३ का किसान चन्द्र प्रसाद बस्नेत भन्छन्, “हामीले हरेक वर्ष हाइब्रिड मकै खेती गर्छौं, जसले धानभन्दा बढी आम्दानी दिन्छ। तर, मल समयमा नपाइने, बीउ गुणस्तरीय नहुने ,बिउमा पनी भारतकै भर पर्नु अवस्था छ ।”यो सिजनमा त् भारतमा मकैको बिउको भाउ असिमित बढाएको उनको भनाइ छ .
अघिल्लो वर्ष युरिया मलको अभावले मकैको बोट पहेंलिएको र दानाको परिपक्वता घटेको थियो। किसानहरू अझै पनि सरकारी वितरण प्रणालीमा भर पर्ने अवस्था छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिंग बाट आउने मल ढिलो आउने भएकाले समयमै मल हाल्न नपाई उत्पादनमा असर पर्ने गरेको किसानको गुनासो छ।
यती खेर किसानलाई मकै थन्काउने चटारो छ .मकैको उत्पादन बढेसँगै भण्डारण र बजारीकरणसम्बन्धी चुनौती पनि बढेको छ। “मकै उत्पादन राम्रो हुन्छ, तर बजारमा मनग्ये मूल्य पाउँदैनौं,” किसान मनोज तिवारी भन्छन , “स्थानीय स्तरमा संकलन केन्द्र वा सहकारीमार्फत मूल्य निर्धारणको व्यवस्था भए किसानले उचित लाभ लिन सक्छन्।”
झापा गाउँपालिकाले मकै खेतीलाई प्राथमिकता दिँदै बीउ अनुदान, तालिम तथा उपकरण वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाका कृषि शाखाका अनुसार, मकै पकेट जोन घोषणा भएसँगै मकै रोप्ने र मकै छोडाउने मोटर, मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिचाइको लागि मोटरसहितका उपकरण अनुदानमा उपलब्ध गराइएको छ। शाखाकी नायब प्राविधिक सहायक रिता बर्देवाका अनुसार पालिकाभित्रका ९२ वटा कृषि समूहलाई तालिम र अनुदान प्रदान गरिएको छ।
मकै खेतीले झापा गाउँपालिकामा किसानको आर्थिक स्थितिमा सुधार ल्याएको छ। तर, समयमै मल आपूर्ति, गुणस्तरीय बीउ, बजार व्यवस्थापन नभएसम्म यस क्षेत्रको पूर्ण सम्भावना उपयोग हुन सक्ने छैन। दीर्घकालीन योजना, सहकारीको सशक्तीकरण र स्थानीय बजार पहुँचको विकास गर्न सके, झापा गाउँपालिकाले मकै उत्पादनमा ठूलो फड्को मार्न सक्छ।
प्रकाशित मिति: २०२५-०५-१८ , समय : २०:५७:०४ , २ हप्ता अगाडि