विदेश जान एक महिनामै ७२ हजार ४ सय ४१ जनाको श्रम स्वीकृति

पत्रपत्रिका , २८०४२  पटक हेरिएको

काठमाडौं । स्वदेशमा भनेजस्तो रोजगारी नपाएपछि पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या थप बढेको छ । माघ महिनामा मात्र झन्डै साढे ७२ हजार जना नेपाली कामदार वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको माघ महिनाको मासिक प्रगति विवरणअनुसार यस्तो तथ्यांक’bout जानकारी भएको हो । विभागका अनुसार माघ महिनाको एक महिनाको अवधीमा मात्र कुल ७२ हजार ४ सय ४१ जना नेपाली कामदार श्रम स्वीकृति लिएर विभिन्न देशको वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये पुरुष कामदारको संख्या ६४ हजार ३ सय ११ जना र महिला कामदारको संख्या ८ हजार १ सय ३० जना रहेको छ ।

अघिल्लो महिना गत पुसमा ६७ हजार २ सय ५८ जनाको श्रम स्वीकृति भएको थियो । पुसको तुलनामा चालू आर्थिक वर्ष २०८१–८२ को वितेको ७ महिना माघमा अघिल्लो महिनाको भन्दा ५ हजारभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन् ।

गत माघमा सबैभन्दा धेरै कामदार संयुक्त अरब इमिरेट्स (यूएई) मा गएका छन् । विभागको तथ्यांकअनुसार माघमा यूएईमा २५ हजार ३ सय ४ जना श्रम स्वीकृति लिएर गएका छन् । यो संख्या संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेहरूको हो । जसमध्ये २२ हजार ३ सय ६४ जना पुरुष र २ हजार ९ सय ४० जना महिला कामदार रहेका छन् । दोस्रो धेरै कामदार गएका मुलुकमा साउदी अरब रहेको छ । साउदी अरबमा १२ हजार ८ सय ७९ जना कामदार गएका छन् । गत माघमा कुल १ सय ३ वटा देशमा नेपाली कामदार श्रम स्वीकृति लिएर गएका छन् ।

सरकारले बाध्यात्मक वैदेशिक रोजगारीमा जाने क्रम न्यून गर्दै आन्तरिक रोजगारी व्यवस्थापनमा जोड दिएको लामो समय भए पनि अझै नेपाली युवा वैदेशिक रोजगारीमा जाने क्रम घट्नुको सट्टा झन् बढिरहेको छ । पछिल्लो समय माघ महिनाको तथ्यांकले दैनिक करिब २ हजार ४ सय जना नेपाली कामदार वैधानिक रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको प्रस्ट देखिएको छ ।

स्वरोजगार एवं आत्मनिर्भर व्यवसाय सञ्चालनका लागि लगानीको जोखिम एवं अस्थिर सरकारको कमजोर नीतिकै कारण हाल देशको मुख्य समस्या नै बेरोजगारी व्यवस्थापन भएको छ । बेरोजगारीको दर बढेसँगै अहिले अधिकांश नेपाली युवा न्यून पारिश्रमिकमा वैदेशिक रोजगारीको खोजी गर्दै खाडी मुलुकलगायत तेस्रो देश गइरहेका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दैनिक वृद्धि भइरहेको विभागको यस तथ्यांकले पनि प्रस्ट पारेको छ ।

माघ महिनामा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीबाट कुल ३३ हजार ४ सय ५२ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये माघ महिनामा व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार ७ सय १५ जना रहेका छन् । यसैगरी, सो अवधिमा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगथारीमा जाने नेपाली कामदारको संख्या २८ हजार २ सय ५८ जना रहेको छ । विभागले संस्थागत रूपमा श्रम स्वीकृति लिएर नेपाली कामदार वैदेशिक रोजगारीमा जाँदै गरेका ७ सय २७ वटा म्यानपावर कम्पनीको नाम सो विवरणमा समावेश गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०२५-०३-०२ , समय : १०:४५:०६ , २ हप्ता अगाडि

error: Content is protected !!